महेन्द्रनगरमा अनिश्चितकालिन कफ्र्यू जारी, सर्व पक्षिय बैठकको तयारी

महेन्द्रनगरमा अनिश्चितकालिन कफ्र्यू जारी, सर्व पक्षिय बैठकको तयारी

महेन्द्रनगरमा प्रहरीको गोली लागेर घाईतेको  सेती अञ्चल अस्पतालमा उपचार हुदै 

धनगढी : शुक्रवार साँझ प्रहरीको गोली लागेर कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का सन्नी खुनाको ज्यान गएपछि लगाईएको अनिश्चितकालिन कर्फ्यू आदेश अझै जारी छ । 

प्रहरी स्रोतका अनुसार कर्फ्यू तत्काल हटाईने छैन । १३ वर्षीय बालिका निर्मला पन्त प्रकरणमा विहिवार गोली लागेर ८ जना घाईते भएपछि शुक्रवार विहान ५ बजेसम्म लगाईएको कर्फ्यू स्थिति सामान्य बन्दै गएपछि हटाईएको थियो ।

तर, एक्कासी आन्दोलनले उग्र रुप लिदा एक बालक सहित अन्य प्रदर्शनकारी घाईते भएपछि जिल्ला सुरक्षा समितिको बैठकले शुक्रवार साँझ ८ बजेदेखि अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको थियो । 

प्रशासनले भीमदत्त नगरपालिकाको चार किल्ला तोकेर कर्फ्यू लगाएको छ । पूर्वमा भीमदत्त नगरपालिका–१८ जनज्योति चोक भाँसीदेखि कारागारको पछाडीको नहर हुँदै मदन भण्डरी स्मृति प्रावि पछाडीको नहर चोकसम्म, पश्चिममा भीमदत्त नगरपाकिा–६ त्रिपुरा युवा क्लब वनगाउँको कार्यालयदेखि भीनपा–४ लिङ्गलासैनी उच्च मावि पछाडिको नहरसम्म कर्फ्यू लगाइएको छ ।

यस्तै, उत्तरमा जनज्योति चोक भाँसीदेखि उत्तर नहर हुँदै खैरेनी चोक नहर हुँदै त्रिपुरा युवा क्लबको कार्यालयसम्म र दक्षिणमा भीमदत्त नगरपालिका–१८ मदन भण्डारी स्मृति प्रावि पछाडिको नहर चोकदेखि सीप विकास केन्द्र अगाडीको नहर हुँदै निङ्गलासैनी उच्च मावि पछाडिको नहरसम्म कर्फ्यू लगाइएको छ ।

घाईतेको धनगढी र नेपालगञ्जमा उपचार हुदै

निर्मला पन्तको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै शुक्रबार भएको आन्दोलनमा गोली लागि घाइते भएकाहरुको धनगढीको सेती अञ्चल अस्पताल र नेपालगञ्जको  कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ ।


गोली लागेर घाईते चेतन भट्ट सेती अञ्चल अस्पतालमा उपचार गराउदै 

चेतन भट्ट, कबिन्द्र सिंह र दामोदर खत्रीको सेतीमा उपचार भईरहेको छ भने सुरेश प्रकाश चटौत र उमेश देउवालाई सामान्य उपचारपछि थप उपचारको लागि कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ ।

सर्व पक्षिय बैठकको तयारी 

आन्दोलन चर्कदै गएपछि अनिश्चितकालिन कर्फ्यू लगाएको प्रशासनले सर्वपक्षिय बैठकको तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक कुवेर कडायतले  जानकारी दिए । 

‘सवैपक्षिय बैठकका लागि प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लागिरहनुभएको छ ।’ एसपी कडायतले भने, ‘आन्दोलनको नेतृत्वकर्ता नहुदा को सग वार्ता गर्ने भन्ने समस्या भईरहेको छ । 
सर्वपक्षीय वार्ताका लागि जिल्लाका राजनीतिक दल, आन्दोलनकारी, पत्रकार, मानवअधिकारकर्मी, महिला अधिकारकर्मीसग समन्वय भईरहेको प्रशासनले जनाएको छ ।