मोरक्कोमा शक्तिशाली भूकम्प, २९६ जनाको मृत्यु

मोरक्कोमा शक्तिशाली भूकम्प, २९६ जनाको मृत्यु

काठमाडौँ। मध्य मोरक्कोमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा र कम्तीमा २९६ जनाको ज्यान गएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको केन्द्रविन्दु माराकेशबाट ७१ किलोमिटर (४४ माइल) दक्षिणपश्चिममा उच्च एटलस पर्वतमा रहेको बताएको छ । यसको केन्द्र जमिनको सतहबाट १८.५ किलोमिटर गहिराइमा रहेको बताइएको छ।

भूकम्पको धक्का केन्द्रबिन्दुबाट ३५० किलोमिटर टाढा रहेको राजधानी रबातमा पनि महसुस गरिएको थियो । कासाब्लान्का र एसाउइरामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । स्थानीय समय अनुसार राति २३ः११ मा भूकम्प गएको हो ।

सामाजिक सञ्जालमा धेरै अपुष्ट भिडियो शेयर भइरहेका छन् जसमा भूकम्पबाट क्षतिग्रस्त भवन र सडकमा छरिएका भग्नावशेष देखिन्छन् । एक बासिन्दाले समाचार एजेन्सी रोयटर्सलाई माराकेशको पुरानो सहरमा केही भवनहरू ध्वस्त भएको बताए। अर्का एक व्यक्तिले उनीहरूले भूकम्पबाट ‘बलियो कम्पन’ महसुस गरेको र ‘भवनहरू हल्लिरहेको’ देखेको बताएका छन् ।

अब्दुलहक अल(अमरानीले एएफपी समाचार एजेन्सीलाई भने, ‘मानिसहरू स्तब्ध र आतंकमा थिए। बालबालिका रोइरहेका थिए।’ भूकम्पका कारण करिब दश मिनेटसम्म बिजुली र फोन लाइन बन्द भएको थियो ।