हत्या आरोपमा दुईजना दिदीबहिनी पक्राउ

हत्या आरोपमा दुईजना दिदीबहिनी पक्राउ

धनगढी – प्रहरीले निर्मलाको बलात्कारपछि हत्यामा संग्लनको आशंकामा सोधपुछका लागि कञ्चनपुरको भीमदत्त नगरपालिका, १८ की १४ वर्षीया रोशनी बम र उनकी दिदी १९ वर्षकी बबिता बमलाई पक्राउ गरेको छ ।

पक्राउ परेका रोशनी र बबिता दिदी बहिनी हुन् । उनीहरु निर्मलाका साथी हुन् । साउन १० गते निर्मला करिब २ किलोमिटर टाढा वडा नम्बर १८ मा रहेको साथीको रोशनीको घरमा गृहकार्य गर्न र नोटबुक लिनका लागि गएकी थिइन् ।

उक्त दिन त्यहाँबाट नफिर्किएकी निर्मला भोलिपल्ट उखुबारीमा मृत भेटिएकी थिइन् । निर्मलाको बलात्कारपछि हत्याको आशंकामा बम दिदीबहिनीलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।

‘बम दिदीबहिनीलाई घटनामा संलग्न भएको आशंकामा सोधपुछका लागि शुक्रबार बेलुका पक्राउ गरेर हिरासतमा राखिएको छ’ स्रोतले भन्यो ।

स्थानीयले पनि बम दिदीबहिनीलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने माग गर्दै आएका थिए ।

बम दिदीबहिनीका बुबाआमा दार्चुला रहेकाले दुई तले घरमा उनीहरु एक्लै बस्ने गरेको स्थानीयहरु बताउँछन् ।

स्थानीयले कञ्चनपुरका तत्कालीन एसपी डिल्लिराज बिष्टका छोरा र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजालाई पनि पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै आएका छन् ।