प्रदेश सभामा जारी पूर्व बजेट छलफल सकियो

प्रदेश सभामा जारी पूर्व बजेट छलफल सकियो

धनगढी : सुदूर पश्चिम प्रदेश सभामा पूर्व बजेट छलफल सकिएको छ । शुक्रबार प्रदेश सभा सदस्यहरुले बोल्ने क्रम सकिएपछि आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिनुभयो । 

मन्त्री बोहराले प्रदेश सभा सदस्यहरुले छुटेको भनेका बिषयहरु नीति तथा कार्यक्रम र बजेटमा आउने जानकारी दिनुभयो । उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रावधान अनुसार पूर्व बजेट छलफलका लागि सिद्धान्त, उद्देश्य, प्राथमिकता र मुख्य नीतिहरु मात्रै राखिएकोले सबै बिषयमा यसमा अट्न नसकेको बताउनुभयो । 

चालू आर्थिक बर्षको बजेट खर्च हुन नसक्नुमा प्रदेश सरकार मातहतो संयन्त्रको अभाव, कर्मचारीको अभाव र ऐन कानून बनाउनुपर्ने प्राथमिक दायित्वका कारण पूजीगत खर्च धेरै हुन नसकेको मन्त्री बोहराले बताउनुभयो ।

उहाँले सातै प्रदेशको तुलना गर्दा सुदूरपश्चिम प्रदेश पूजीगत खर्चको अवस्था हेर्दा दोस्रो नम्बरमा रहेको बताउनुभयो । योजना तर्जुमा गर्ने समय जेठ सात गते सम्म तोकिए पनि सबै सांसदहरुको योजना नपुगेको अवस्था रहेका कारण सात दिन म्याद थप गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । 

मन्त्री बोहराले जवाफ दिनु अघि पूर्व बजेट छलफलमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावलले मानव विकास सुचकांकमा सुदूरपश्चिम प्रदेश पछाडि रहेका कारण त्यसलाई सुधार गर्ने योजना प्रदेश सरकारसित हुनुपर्ने बताउनुभयो । उहाँले योजनाबद्ध विकासमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । 

सत्तापक्षीय प्रमुख सचेतक तारा लामा तामाङले प्रदेश सरकारले पूर्व बजेट छलफलका क्रममा ल्याएको दस्तावेज अनुरुप बजेट बनाउनुपर्ने बताउनुभयो । उहाँले बजेट बन्नु भन्दा पनि त्यसको कार्यान्वयन महत्वपूर्ण हुने बताउनुभयो । 

शुक्रबारको प्रदेश सभा बैठकमा अल्पसंख्यंक समुदायको प्रतिनिधित्व गर्दै नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्य बन्नुभएकी उमा कुमारी वादीले आफ्नो समुदायको सवालमा सरकार उदासी नबनेको आरेप लगाउनुभयो ।

उहाँले आगामी आर्थिक बर्षको बजेटले दलित, महिला र वादी समुदायलाई छुन सक्नुपर्ने बताउनुभयो । निरक्षर रहनुभएकी उहाँले प्रदेश सरकारको नीतिमा वादी समुदाय नअटाए पनि त्यस्तो नियतबस भने नहोस भन्ने आफ्नो चाहना रहेको बताउनुभयो । 

सासंद वादीले बोलिरहदा वादी समुदायका केही प्रतिनिधि प्रदेश सभाको दर्शक दीर्घामा बसेर सुनिरहेका थिए । 

शुक्रबारको छलफलमा पूर्व मन्त्री दीर्घ सोडारी, बलदेव रेग्मी, कुलबीर चौधरी र शान्ति नेपालीले पनि भाग लिनुभयो । प्रदेश सभाको अर्को बैठक आइतबार दिनको ३ बजे बस्ने छ ।