चीनको नयाँ नक्साले हिन्द–प्रशान्त क्षेत्रमा तनाव बढाउँदै

चीनको नयाँ नक्साले हिन्द–प्रशान्त क्षेत्रमा तनाव बढाउँदै

चीनले हालै जारी गरेको राजनीतिक नक्साले हिन्द–प्रशान्त क्षेत्रका देशको सार्वभौमसत्ता संरक्षणमा तनाव बढाउन थालेको सुरक्षा विश्लेषकहरूले बताएका छन् ।

चीनको निर्णयले द्वन्द्व भड्काउने अवस्था देखिएको भन्दै उनीहरुले चीनले नक्सा सच्याउनु उचित हुने सुझाव दिएका समाचारसंस्था एएनआईले जनाएको छ । चीनको नयाँ नक्सामा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन आसियानका सदस्य देशहरु रुष्ट भएका छन् ।

चीनका एसियाली प्रतिद्वन्द्वी जापान र भारतले पनि असन्तुष्टि जनाएका छन् । नक्सा जारी गरेको केही समयमै चीनले आसियान देशका डुङ्गा र पानीजहाजमा अवरोध गरेको छ । भारत र जापानले नक्साको विरोध गर्दै चीनलाई औपचारिक पत्र पठाइसकेका छन् ।

आसियानका पाँच सदस्य मलेसिया, फिलिपिन्स, इन्डोनेसिया, भियतनाम र ब्रुनाईले सार्वजनिक वक्तव्य निकालेर चीनको आलोचना गरेका छन् ।