निपा भाइरसका कारण दुई जनाको ज्यान गएपछि चेतावनी जारी

निपा भाइरसका कारण दुई जनाको ज्यान गएपछि चेतावनी जारी

भारतको केरला राज्यमा निपा भाइरस सङ्क्रमण भएर दुई जनाको ज्यान गएको पुष्टि भएपछि चेतावनी जारी भएको छ ।

केरलाकी स्वास्थ्य मन्त्री वीणा जोर्जले राज्यभर चेतावनी जारी गरेको जानकारी दिनुभएको बीबीसीले जनाएको छ । केरलामा सन् २०१८ यता अहिले चौथो पटक निपा भाइरस प्रकोप फैलिएको हो । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार निपा भाइरस सङ्क्रमण सुँगुर वा चमेरोबाट मानिसमा सर्ने जुनोटिक रोग हो । यो भाइरस मानिसबाट मानिसमा पनि सर्छ । यो रोगको औषधि र खोप छैन तर मृत्युदर भने उच्च छ । केरलामा सन् २०१८ मा १८ जनामा निपा भाइरस सङ्क्रमण पुष्टि भएकोमा १७ जनाको ज्यान गएको थियो ।

रोग लागे पनि धेरैलाई लक्षण देखिँदैन । कडा खालको लक्षण देखिएकाहरुलाई लक्षण अनुसारको उपचार गर्ने र हेरचाह गर्ने गरिन्छ । भारतका स्वास्थ्यमन्त्री मनसुख मांडवियाले सङ्घीय सरकारले केरला राज्यमा निपा भाइरस प्रकोपको आकलन गर्न र प्रकोप व्यवस्थापन गर्न राज्य सरकारलाई सहयोग पुगोस् भनेर एउटा विज्ञ टोली पठाएको जानकारी दिए ।