अपि चिनाउन "भिजिट अपि हिमाल" अभियान गरिने

अपि चिनाउन "भिजिट अपि हिमाल" अभियान गरिने

धनगढी । सुदूरपश्चिमकै सबैभन्दा बढी उचाई भएको अपि हिमालको पहिचान गराउन भिजिट अपि हिमाल अभियान सञ्चालन गरिने भएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिमको सहकार्य, नेपाल टुर एण्ड ट्राभल्स एशोसियसन (नाटा) को समन्वय तथा अपि हिमाल गाउँपालिकाको आयोजनामा विश्व पर्यटन दिवस २०८० को अवसरमा भिजिट अपि हिमाल सञ्चालन गरिने भएको हो ।

देशका विभिन्न हिमालहरुमा बेस क्याम्प सञ्चालन भएसंगै घुम्न जाने पर्यटकको संख्या बढ्दै गएपनि सुदूरपश्चिम प्रदेशको अपि हिमाल तथा सैपाल हिमाल ओझेल परेको भन्दै अभियान गरिन लागेको शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिए ।

अध्यक्ष बोहराले गाउँपालिकाले हरेक वर्ष भ्रमण वर्ष मनाउँदै आएको र यस वर्ष पनि यसलाई निरन्तरता दिइने बताए । गाउँपालिकाकै लगानीमा अपि हिमालमा बेस क्याम्प निर्माण गरिएको छ । गाउँपालिकाले अपि हिमाललाई आरोहण क्षेत्र बनाउन विभिन्न प्रयास गरिरहेको उनको भनाई छ । उनले भने –‘झण्डै साढे चार हजार मिटर उचाईमा बेस क्याम्प रहेको छ । त्यहाँ पुग्नका लागि पदमार्ग निर्माण भइसकेको छ । बेस क्याम्प जान चाहने व्यक्तिहरुले यात्राका क्रममा खान बस्नको समस्या छैन् । अहिले हामीले त्यहाँ आरोहण गराउनका लागि सम्बन्धित निकायहरुमा छलफल गरिरहेका छौं । हाम्रो प्रमुख उद्देश्यनै अपि हिमाललाई आरोहण क्षेत्र बनाउने हो ।’

अपि हिमालको उचाई सात हजार एक सय ३२ मिटर उचाई रहेको छ । त्यहाँ हिमाल चढ्नका लागिमात्र नभई त्यहाँ हिउँ, लोपोन्मुख जंगली जनावर, लोपोन्मुख जातजातीको संस्कार तथा संस्कृति, प्राकृतिक ताल, चमेलिया नदीको प्रमुख मुल, मठ मन्दिर लगायत त्यहाँको सौन्दर्य हेर्न पनि पर्यटकहरु एक पटक पुग्नै पर्ने उनी बताउँछन् । 

धनगढीदेखि अपि हिमाल जादा सितिहोमस्टेसम्म बस तथा अन्य सवारी निर्वाध पुग्छन् । उनका अनुसार सितिदेखि बेसक्याम्पसम्म पैदल यात्रा शुरु हुने छ । गाउँपालिकाको लगानीमा पैदलमार्गमा छ हजार बढी सिडिहरु निर्माण गरिएको छ । उनले भने –‘अपि हिमाल जान चाहने पर्यटकलाई सहज होस भनेर सिडि निर्माण भएको छ ।’ 

दार्चुलामा पर्ने अपि हिमाल हेर्न जाने पर्यटकले दार्चुलाको चमेलिया जलविद्युत, लटिनाथ तलाईमाण्डौं बाबा मन्दिर, लटबाघ मन्दिर, माउदेउस्थान सिति मन्दिर, बवैया दह तथा अन्य स्थलहरुको अवलोकन, अपि नाम्पा कैयाकोर हिमाल तथा रिङदेतालको अवलोक, चौलानी नदीको उदगम स्थल, पिलकन्द पाटन, कालिढुङ्गी ताल, मार्कण्डेय गुफा, नागनागनी ढुङ्गा लगायतको अवलोकन गर्न सक्ने छन् ।

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीले अपि हिमाल गाउँपालिकाले पर्यटकीय क्षेत्रमा गरेको कार्य उदाहरणीय रहेको बताए । उनले भने –‘हरेक पालिकाले आफनो क्षेत्रको एक मात्र पर्यटकिय स्थलमा लगानी गर्दा पर्यटन क्षेत्रको विकास हुन्छ । तर, यहाँ पर्यटकीय क्षेत्र भन्दै धेरैमा टुक्रे योजना हाल्दा प्रभावकारी बन्न सकेको छैन् ।’ उनले प्रदेश सरकारले यस वर्ष आवश्यकता अनुसारका पर्यटन क्षेत्रमा लगानी गरेकोले आगामी दिनमा पनि यसरीनै मन्त्रालय अघि बढ्ने बताए ।