विविध कार्यक्रम गरि मनाइयो संविधान दिवस

विविध कार्यक्रम गरि मनाइयो संविधान दिवस

धनगढी । नेपालको संविधान नवौं वर्ष प्रवेश गरेको अवसरमा विविध कार्यक्रम गरि मनाइएको छ ।

संविधान दिवसको अवसरमा दिप प्रज्वलन, अन्तरक्रिया, भव्य समारोह लगायत विविध कार्यक्रम गरि मनाइएको हो ।

संविधान दिवस मुल समारोह समिति सुदूरपश्चिम प्रदेशले धनगढीको रंगशालामा भव्य समारोह कार्यक्रम आयोजना गरेको थियो । प्रदेश प्रमुख देवराज मल्लको प्रमुख आतिथ्यमा मुल समारोह समितिले भव्य कार्यक्रम गरेको हो ।

सो समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कमलबहादुर शाहले अहिलेको संविधानले नागरिकका आधारभुत अधिकारलाई सुनिश्चितता गरेको बताए । उनले भने –‘संविधान आएसंगै नागरिकका हकअधिकार सुनिश्चित भएका छन् । अब सामाजिक तथा आर्थिक विकास तर्फ सरकार केन्द्रित भएको छ ।’ उनले सरकारले बनाएका नीति, कार्यक्रम कार्यान्वयन सन्तोषजनक नहुँदा अझै पनि विकासको गतिमा सुस्ता देखिएको बताए ।

समितिले आयोजना गरेको समारोहमा प्रदेश मातहातका मन्त्रालयका मन्त्री, प्रमुख सचिव, सचिव, मातहात कार्यालयका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

यस्तै, दिवसकै अवसरमा युएनडिपी संसद सहयोग विकास कोषको सहकार्य तथा सञ्चार प्रतिष्ठान नेपालको आयोजनामा सुदूरपश्चिम प्रदेश सभा संसदीय अभ्यास र प्रभावकारिता अन्तरसंवाद भएको छ । अन्तरसंवादमा सहभागि प्रदेश सभा सदस्यहरुले अझै पनि प्रदेश सरकार संघ मातहातमै चल्दा जनताका समस्याहरुको सम्बोधन गर्न नसकिएको गुनासो गरे ।

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका सचेतक विक्रमसिंह धामीले सार्वभौम प्रदेश हुनुपर्नेमा अझै पनि केन्द्रिकृत शासन प्रदेशमा हावी भएको बताए । उनले भने –‘जब सांसदनै राजनीतिक दलको बन्धकमा हुन्छन् । निर्वाचित सांसदले चाहे अनुसारका काम हुन सक्दैन् । अहिले प्रदेशमा भइरहेको अभ्यास त्यही हो । यसमा सुधार हुन जरुरी छ ।’

नेकपा एमालेकी प्रदेश सभा सदस्य सन्तोष कुमारी शर्मा (थापा)ले प्रदेश सरकार जनउत्तरदायी हुन नसकेको बताइन् । उनले जनताका समस्या, आँकाक्षा धेरै हुँदा समस्याको निराकरणमा गर्न नसकिएको बताइन् । उनले भनिन् –‘अहिले सरकार सदनभित्र जनतको समस्या भन्दा पनि गणितिय दम्भ तथा शत्तिको आधारमा अघि बढीरहेको भान हुन्छ । बहुमतको दम्भले सरकार चल्दा सदन सञ्चालनमा समस्या भइरहेका छन् ।’

No description available.

उनले धेरै पार्टी मिलेर बनेको सरकार भएकाले प्रदेश सभाले विजनेस पाउन नसकेको बताइन् ।
नेपाली काँग्रेसकी प्रदेश सभा सदस्य तुलसी देवकोटाले विषयगत समितिले पूर्णता नपाउँदा जननिर्वाचित जनप्रतिनिधिले जिम्मेवार भएर काम गर्न असहज भएको बताइन् । उनले भनिन –‘विषयगत समितिले पूर्णता पाए चलायमन हुन्छ र सबै जिम्मेवार हुनेछन् ।’

No description available.

वरिष्ठ पत्रकार मनमोहन स्वारले सञ्चालन गरेको कार्यक्रमको सहजिकरण चित्राङ्ग थापाले गरेका थिए ।
यस्तै दिवसकै अवसरमा धनगढी जेसिजको आयोजनामा धनगढी चौराहा, नेपाल विद्यार्थी संघ कैलालीको आयोजनामा शहिद गेटमा दिप प्रज्वलन कार्यक्रम गरिएको हो ।