विश्व पर्यटन दिवसः अपिहिमाल वेशक्याम्पमा

विश्व पर्यटन दिवसः अपिहिमाल वेशक्याम्पमा

दार्चुला। विश्वपर्यटन दिवस अपिहिमाल गाउँपालिकाको अपिहिमाल वेशक्याम्पमा मनाइएको छ।

असोज १० गते अर्थात २७ सेप्टेम्बर २०२३ का दिन समुद्री सतहबाट ३९०० मि. उचाइमा रहेको अपि वेशक्याम्पमा विश्वपर्यटन दिवस अपि हिमाल भ्रमण वर्ष २०८० लोगो उद्घाटन  गर्दै विश्वपर्यटन दिवस मनाइएको हो ।

कार्यक्रम नेपाल पर्वतारोहण संघको सहभागिता उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेशको सहकार्य, नाटा सुदूरपश्चिम प्रदेश संघको समन्वय एवम् अपिहिमाल गाउँपालिकाको आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिति एवम् सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश सिंह धामीले गाउँ गाउँमा प्रदेश सरकारको उपस्थिति भएको बताएका छन्।‌ आफू मन्त्री भएको ४ महिना २ दिनमा गरिब जनताको घरदैलोमा एवम् बस्तिहरुमा आफु पुगेको बताए ।

यो पालिको विश्व पर्यटन दिवस ३९०० मि. उचाईमा सुदूरपश्चिम प्रदेश सरकारको सहकार्यमा आयोजना भएको र अब दार्चुलाका सवै स्थानीय तहहरुसंग  पर्यटन प्रवद्र्धनका लागि अन्तर्सम्बन्ध कायम गरी अघि बढ्ने बताए ।

त्यस्तै महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिरले जिल्लाको समग्र पर्यटन क्षेत्र प्रवर्द्धनका लागि प्रदेश सरकारले बिशेष ध्यान दिनुपर्ने  भन्दै अपि हिमाल गाउँपालिका संग पर्यटनका क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

मार्मा गाउँपालिकाका अध्यक्ष जमन सिंह धामीले मार्मा क्षेत्रको विकासका लागि प्रदेश सरकार र संघ सरकारले बिशेष प्राथमिकतामा राख्नु पर्ने धारणा राखे । बिकट मार्मा क्षेत्रमा यहाँका नागरिक वास्तविक मूल्यको दोब्बर भाडा तिरेर जीविकोपार्जन गरिरहेको भन्दै मार्मा वासीको पिडा प्रदेश र केन्द्र सरकारले निराकरण गर्नुपर्ने बताए ।

अपि हिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराको अध्यक्षतामा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका पर्यटन मन्त्री रमेश सिंह धामी प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रममा महाकाली नगरपालिका प्रमुख नरसिंह चैसिर, मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी लगायत जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार र स्थानीयहरुको उपस्थिति रहेको थियो।