लगानीको वातावरण बनाउन प्रदेश सरकार तयार छः मुख्यमन्त्री शाह

लगानीको वातावरण बनाउन प्रदेश सरकार तयार छः मुख्यमन्त्री शाह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले व्यवसायीहरुलाई सुदूरपश्चिममा लगानी गर्ने वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बुधबार धनगढीमा शुरु भएको पाँच दिने तेस्रो हार्डवेयर एक्सपोका समुदघाटन गर्दै प्रदेशको समृद्धिका लागि नीजि क्षेत्रको लगानी आवश्यक भएकोले प्रदेश सरकारले आफनो भुमिका निर्वाह गर्न तयार रहेको बताएका हुन् ।
‘आर्थिक समृद्धिको आधार तथा यो मुलुकको समृद्धिको आधार नीजि व्यवसायीहरु हुन्’ उनले भने –‘यो मुलुक बनाउन सबै मिलेर जानुपर्छ । लगानीको वातावरण बनाउन प्रदेश सरकार कुनै पनि कमी राख्दैन् । आर्थिक मन्दी छ तर, पनि प्रदेशको समग्र विकासका लागि हामी समन्वय र सहकार्य गर्न तयार छौं ।’

उनले प्रदेशमा योजना, परियोजना र लगानीको आँकलन गर्न प्रदेश सरकारले छिट्टै लगानी सम्मेलन गर्ने बताउँदै ‘सम्मेलनले पहिचान गरेका सम्भावनाका क्षेत्रका आधारमा नीजि क्षेत्रलाई लगानी गर्ने वातावरण बनाउने छु ।’
मुख्यमन्त्री शाहले संघको र अन्य छ वटा प्रदेश भन्दा सुदूरपश्चिम प्रदेश सरकारले भिन्न तरिकाले बजेट ल्याएको दाबी गरे ।
नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष अनिल भुजनियाले निर्माण तथा हार्डवेयर व्यवसायीका सरकारले रोकेका भुक्तानी यथाशिघ्र गरिदिनुपर्ने बताए ।

उनले भने –‘एकातर्फ व्यवसायी धरापमा छ । त्यसैमा सरकारले भुक्तानी गरेको छैन् । यो मुलुकको ७८ प्रतिशत बजेट नीजि क्षेत्रले तिरको करबाट आउँछ । तर, नीजि क्षेत्रले लगानी गरेको सुरक्षाको व्यवस्था सरकारले गर्न सकेको छैन् ।’
नेपाल उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्प कुँवरले युवाहरुलाई विदेश पलायन हुनबाट सरकारले रोक्ने वातावरण गर्न नसकेको बताए । ‘अहिले सबैभन्दा बढी मर्कामा व्यवसायी परेको छ’ उनले भने ‘तर, राहत दिने काम सरकारबाट हुन सकेको छैन । खाली करमाथि कर थप्ने काम भएको छ ।’

हार्डवेयर व्यवसायी संघ कैलालीका अध्यक्ष कुवेर शाहीको अध्यक्षतामा बुधबारदेखि शुरु भएको एक्सपो १४ गतेसम्म सञ्चालन हुने छ । एक्स्पोमा निर्माण तथा हार्डवेयर सामग्रीसँग सम्बन्धित करिब ५५ वटा स्टल निर्माण गरिएको छ । हार्डवेयर तथा निर्माण सामग्री उत्पादक कम्पनीहरुले स्टलहरु बुकिङ्ग गरी स्टलमा निर्माण सामाग्री र सोको विषयमा जानकारीहरु राखेका छन् । अवलोकनकर्ताले निर्माण तथा हार्डवेयरसँग सम्बन्धित सम्पूर्णसामग्री एउटै छानामुनि अवलोकन गरेर ती सामग्रीबारे जानकारी लिन पाउने संघले जनाएको छ ।

‘संरचना निर्माणको योजनामा रहनुभएका व्यक्ति, सरोकारवाला र आमनागरिकलाई निर्माणसँग सम्बन्धित सबै प्रकारका सामग्री, तिनको मूल्य, गुणस्तर र निर्माण क्षेत्रको नयाँ प्रविधिबारे एक्स्पोका माध्यमबाट जानकारी गराउन खोजेका हौँ’ अध्यक्ष शाहीले भने, ‘यसबाट व्यवसाय वृद्धिमा पनि मद्दत पुग्ने अपेक्षा गरेका छौँ ।’ राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुले उत्पादन गरेका निर्माण सामग्रीबारे अवलोकनकर्ताले जानकारी हासिल गर्न सक्ने उनले बताए ।

सरिया, सिमेन्टदेखि संरचना निर्माण गर्दा आवश्यक पर्ने सबै प्रकारका सामग्री, टायल, मार्बल, धारा, रङरोगनलगायत फिनिसिङका सामग्रीहरु प्रदर्शनीमा राखिनेछन् । व्यवसायिक तथा घर निर्माण कर्जाबारे जानकारी दिन केही बैंकका स्टलसमेत राखिने संघले जनाएको छ । स्थानीय खाना तथा नास्ताका परिकारका स्टलहरु पनि रहको अध्यक्ष शाहीले जनाए ।