नेपालकै पहिलो अपी शैपाल महिला गोल्डकप फुटबल प्रतियोगिता धनगढीमा हुने

नेपालकै  पहिलो अपी शैपाल महिला गोल्डकप फुटबल प्रतियोगिता धनगढीमा हुने

श्री शैलेश्वरी स्पोर्ट क्लब धनगढीको आयोजनामा “खेलकुदको विकास नै सुखी नेपाली समृद्घ नेपाल निर्माणको प्रमुख आधार” भन्ने मूल नाराका साथ धनगढीमा नेपालमै पहिलो पटक अपी शैपाल महिला गोल्डकप‐२०७६ फुटबल प्रतियोगिता हुने भएको छ ।

उक्त प्रतियोगिता मिति २०७६ मंसिर ५ गते देखि मंसिर १४ गते सम्म धनगढी रंगशालामा हुनेछ । धनगढीमा फुटबलमा महिलाको सक्रियता बढाउने,यहाँका महिला खेलाडि हरुलाई फुटबल खेलतिर उत्पे्ररित गराउने,सुदूरपश्चिमलाई खेलकुद पर्यटनको माध्यमबाट चिनाउने, सुदूरपश्चिमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला फुटबल खेलाडिहरु उत्पादन गर्ने उद्घेश्यले उक्त प्रतियोगिता सन्चालन गर्न लागिएको र नेपालकै पहिलो महिला गोल्ड कपलाई विशेष रुपमा हेरिएको श्री शैलेश्वरी स्पोर्ट क्लब धनगढीले जनाएको छ ।

उक्त प्रतियोगितामा नेपालका ७ प्रदेश र ३ विभागीय टिमहरुले सहभागिता जनाउने भएका छन् भने आयोजक टिम सुदूरपश्चिम प्रदेशको टिम रहने भएको छ । प्रतियोगितामा ख्याती प्राप्त राष्ट्रिय महिला खेलाडिहरुको सहभागिता रहने छ ।

प्रतियोगितामा झण्डै ८२ लाख अनुमानित खर्च हुने,प्रत्येक दिन फरक‐फरक ६ हजार भन्दा बढी दर्शकहरुले प्रत्यक्ष अवलोकन गर्ने तथा ६० लाख भन्दा बढी मानिसहरुले अप्रत्यक्ष रुपमा  प्रतियोगिता बारे जानकारी प्राप्त गर्न सक्ने र प्रतियोगिताको प्रत्यक्ष प्रशारण विभिन्न टेलिभिजन द्वारा गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टिमलाई नगद रु. ५ लाख १ हजार रुपैया सहित ट्रफी,मेडल तथा प्रमाणपत्र र उपविजेता टिमलाई रु. २ लाख ५१ हजार रुपैया सहित ट्रफी,मेडल तथा प्रमाणपत्र पुरस्कार प्रदान गरिने, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई स्कुटी पुरस्कार दिइने,विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई रु. १०‐१० हजारका दरले र प्रत्येक खेलको म्यान अफ दि म्याच लाई ५‐५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

उक्त खेल फिफा तथा एन्फाको नियम अनुसार खेलाइने र खेल नकआउट चरणमा खेलाइने आयोजकले जनाएको छ । साथै यो प्रतियोगिता नेपाल तथा सुदूरपश्चिमको ऐतिहासिक फुटबल प्रतियोगिता हुने र यस प्रतियोगिताले सुदूरपश्चिम प्रदेशको समग्र विकासमा टेवा पु¥याउने आयोजकको विश्वास रहेको छ ।