शिव शिखर सहकारीको सेवा केन्द्र सिल, ३५ सय बढीले दिए उजुरी

शिव शिखर सहकारीको सेवा केन्द्र सिल, ३५ सय बढीले दिए उजुरी

धनगढी । कैलालीको अत्तरीया स्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सेवा केन्द्र सिल गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीको परिपत्रअनुसार इलाका प्रहरी कार्यालय मालाखेतीले सोमबार सो सहकारीको सेवा केन्द्र सिल गरेको हो ।

शिव शिखर सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार साउन २५ गते समस्याग्रस्त घोषणा गरिएको थियो ।

सहकारी समस्याग्रस्त घोषणापछि सहकारी ऐन २०७४ को दफा १०५ बमोजिम संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि जिल्ला प्रहरी कार्यालय कैलालीले इलाका प्रहरी कार्यालयलाई सिल गर्न पत्राचार गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीका अनुसार सोमबारसम्म सो सहकारी विरुद्ध ३ हजार ५ सयले उजुरी दिएका छन् । जुन सङ्ख्या बढोत्तरी रहेको जनाइएको छ ।

कैलालीमा सहकारीको ३ वटा सेवा केन्द्र रहेको थियो । धनगढी, अत्तरिया र लम्कीमा सेवा केन्द्र रहेको हो ।