दसैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने

दसैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने

काठमाडौँ । यस वर्षको दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले सोमबारदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, काठमाडौं उपत्यकामा केन्द्रीय कार्यालय र उपत्यकाबाहिर प्रादेशिक कार्यालयमार्फत सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा दिन लागेको हो ।

दसैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने

गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिन लागेको हो । गत वर्ष राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्थालाई र २९ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गरेको थियो ।

१८ हजार ५ सय रुपैयाँ भनेको ५ देखि १ सय रुपैयाँसम्मको एक/एक बन्डल हो । यस वर्ष नयाँ नोट लिन आउने सर्वसाधारणलाई राष्ट्र बैंकले क्यूआर कोडमार्फत भुक्तानी गर्न आग्रह गर्ने जनाएको छ । 

डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्भव भएसम्म धेरैभन्दा धेरै भुक्तानी क्यूआरमार्फत गर्न आग्रह गर्ने तयारी रहेको स्रोतले बताएको छ । क्यूआर कोडमार्फत भुक्तानी गर्नेबाहेकले नयाँ नोट सटही सुविधा पाउँदैनन् भन्ने होइन, सबैले पाउने राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकले आफ्ना कार्यालयमार्फत सर्वसाधारण र बैंक तथा वित्तीय संस्थालाई वर्षभर नै नयाँ नोट वितरण गरिरहेको हुन्छ । यद्यपि दसैं, तिहार र छठका लागि सर्वसाधारणबाट नयाँ नोटको माग धेरै आउने भन्दै त्यसलाई नियमित कार्यक्रमसरह मानेर वितरण गर्दै आएको छ ।

दसैं र तिहारमा हरेक वर्ष ६० देखि ७० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्छ । बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् ।