प्रकाशकीय : ७ औँ वर्षको डिजिटल यात्रामा हामी

प्रकाशकीय : ७ औँ वर्षको डिजिटल यात्रामा हामी

नेपाली मूलधार भनिने काठमाडौँको पत्रकारिता क्षेत्रमा डिजिटल अभ्यास थालनी भैरहदा मोफसल भनिने धनगढी (इन्टरनेटले मोफसल रहेन)  जस्तो ठाउँमा डिजिटल पत्रिकाको प्रयास चुनौतीपूर्ण थियो नै । तर पनि एउटा सुखद र चुनौतीपूर्ण थालनी गर्दै धनगढी खबर डटकम नामक अनलाइन पत्रीकाको सुरुवात गरियो । 

सबैको र सबैभन्दा राम्रो अनलाइन समाचार पोर्टल बनाउने उद्देश्य बोकेर २०७४ असोज ३० गतेदेखि आरम्भ गरेको यात्राले विभिन्न आरोह अवरोधलाई छिचोल्दै छ वर्ष पुरा गरी सातौँ वर्षको यात्रातिर लम्केको छ । हामीले विभिन्न आरोह अवरोह पार गर्दै आजदेखि छ वर्षको यात्रा पूरा गरेर सातौँ वर्षमा प्रवेश गरेको जानकारी गराउन पाउँदा हामीले आफूलाई गौरवान्वित महसुस गरेका छौँ । यस अवसरमा ‘धनगढी खबर’ का पाठक, समाचार श्रोत, लेखक, विज्ञापनदाता, शुभेच्छुक तथा सहकर्मी सञ्चारकर्मी सबै सबैप्रति हामी हार्दिक आभार प्रकट गर्दछौँ । 

हामीलाई हाम्रा पाठक तथा शुभचिन्तकको असीम माया र सद्भावकै कारण अनवरत रूपमा यहाँसम्म आइपुग्न ऊर्जा प्राप्त भएको हो भन्ने हाम्रो ठम्याई छ । छ वर्षको यो अवधिमा हामी लाई सबै नेपालीको पहुँचमा पुग्ने भरपर्दो सञ्चार माध्यम बनाउने प्रयासरत छौ । धनगढी खबरको लोकप्रियता,व्यावसायिकता र प्रतिष्ठा कायम राख्न र अझ उचाइमा पुर्‍याउनु हाम्रो उद्देश्य हो, यसका लागी  सम्पूर्ण पाठक, समाचार श्रोत, लेखक, विज्ञापनदाता, शुभेच्छुकबाट निरन्तर साथ, सहयोग र समर्थनको अपेक्षा गर्दछौँ ।

यो छ वर्षको अवधिमा मोफसलबाट पनि डिजिटल पत्रिका सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश दिन सफल भएका छौ । 
शान्ति, सुशासन, न्याय, मानवअधिकारका सवाल, समुन्नति र विकासका लागी आजको पत्रकारिता आवश्यकता हो । जसको लागी जिम्मेवार पत्रकार र उत्तरदायी पत्रकारिता हाम्रो मूल जिम्मेवारी हो । 

मूलतः राज्य नागरिक प्रति जिम्मेवार हुनुपर्छ, तिनै तहका सरकार संविधानको मर्म बमोजिम चल्न पर्दछ हाम्रो मुख्य वकालत भनेकै नागरिक मैत्री सेवाको संरक्षण गर्नु र सेवा प्रत्याभूत गराउन कलम चलाउनु हो । जसका लागी निरन्तर प्रयासरत रहने प्रतिबद्धता व्यक्त गर्दछौ । 

सीमित श्रोत साधनबाट स्रोत साधनले जनताको सुसूचित हुने अधिकारलाई सुनिश्चित बनाउँदै निरन्तर रहेर हामीले व्यवसायी अभ्यास गरेका छौ । 

हामी हाम्रो उद्देश्य अनुरूप तथा आम पाठक, सञ्चार उपभोक्ताको चाहाना अनुसार छ वर्षको यात्रामा जुन ठाउँमा पुगेका छौँ, यत्तिमै सन्तुष्ट हुने अवस्था छैन । हाम्रा समाचार सामग्रीहरूको विविधता एवं थप व्यावसायिक र स्तरीय बनाउँदै जाने हाम्रो लक्ष्य छ । यसका लागि हामीले दक्ष पत्रकारहरूको टिम निर्माण र उनीहरूको वृत्ति विकासमा विशेष जोड दिने नीति अवलम्बन गर्दै जाने प्रतिबद्धता जनाउन चाहन्छौँ ।

अन्तमा हामी आम नागरिकको हक–अधिकारको रक्षाका लागि आफ्नो निष्ठा रहेको प्रतिबद्धता जनाउँदै निरन्तर पहरेदारीमा लागि रहने छौ । 

यसरी नै लोकप्रिय, परिष्कृत, भरपर्दो एवं विश्वसनीय मोफसलबाट पनि मूल प्रवाहको अनलाइन सञ्चार माध्यमका रूपमा विकास गर्ने हाम्रो अभियानमा सम्पूर्ण पाठक, समाचार श्रोत, लेखक, विज्ञापनदाता एवं शुभेच्छुकहरूको निरन्तर सहयोग सुझाव अपेक्षा गर्दछौँ । :- हरि जोशी - सम्पादक