सुदूरपश्चिममा घुम्न उपयुक्त गन्तव्य !

सुदूरपश्चिममा घुम्न उपयुक्त गन्तव्य !

कैलाली । सुदूरपश्चिममा धेरै सुन्दर र मन लोभ्याउने ठाउँहरू छन् । प्रचारप्रसारको अभावका कारण यहाँका कैयौँ पर्यटकीय स्थलहरू ओझेलमा छन् । प्राकृतिक पर्यटकसँगै यस प्रदेशमा धार्मिक पर्यटनको पनि प्रचुर सम्भावना छ ।

सुन्दर सुदूरपश्चिम प्रदेशमा हिमालका टाकुरादेखि पहाडका रमाइला फाँट, उपत्यका, भित्रीमधेश र तराईका हरिया फाँटहरू, हिम शृङ्खलालगायत अरू धेरै ठाउँहरू छन् । दसैँ र तिहारको बीचमा घुम्नका लागि उपयुक्त केही गन्तव्य यस्ता छन् ।

काठमाडौंबाट धनगढी  (६८० कि.मि.) पुग्न बसमा १६ घण्टा लाग्छ भने हवाई यात्राबाट १ घण्टा १० मिनेटमा पुग्न सकिन्छ । धनगढीबाट सबै जिल्लमा पुग्न सहज सार्वजनिक गाडी उपलब्ध छ । निजी सवारीबाट पनि ती जिल्लाहरूमा जान सकिन्छ । केही गन्तव्य सम्मै गाडी जान्छ भने केहीमा भने पदमार्ग मात्रै पनि पुग्न सकिन्छ ।

कर्णाली पुल

नेपालकै लामो नदी कर्णाली र त्यही नदीमा निर्माण गरिएको एकखम्बे पुल सुदूरपश्चिमलाई काठमाडौँसँग तराईका अन्य जिल्लासँग जोड्ने प्रमुख द्वार हो । यो पुलको लम्बाइ ५ सय मिटर र चौडाइ १४ मिटर छ । सुन्दर कर्णाली नदीको अवलोकन गर्न र कर्णाली नदी स्वादिष्ट माछासँगै र्‍याफ्टिङ आनन्दका लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्छन् ।

टीकापुर पार्क

वि।सं २०२८ सालमा तत्कालीन राजा महेन्द्रले एक महिना नेपालको राजकाज चलाएको इतिहास बोकेको टीकापुर पार्क सुन्दर र रमणीय छ ।

यो पार्क विशेष गरी पिकनिक खान आउने पर्यटकहरूका लागि प्रमुख रोजाइमा पर्ने गरेको छ ।

घोडाघोडी ताल

कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी ताल विश्वरामसार सूचीमा सूचीकृत एउटा महत्त्वपूर्ण ताल हो । यो ताल दुई हजार पाँच सय ६३ हेक्टरमा हातको पञ्जा आकारमा फैलिएको छ । हत्केला आकारको यो तालका १९ वटा उपतालहरू छन् । करिब २ सय ४५ प्रजातिका चराचुरुङ्गी, गोही, पानी हाँस, जङ्गली धानलगायतका लागि यो क्षेत्र अत्यन्त रमणीय र आकर्षक मानिन्छ ।

भादा होमस्टे

थारु जीवनशैली र संस्कृतिका लागि भादा गाउँ प्रख्यात मानिएको छ । धनगढी उपमहानगरपालिका– १६ मा रहेको भादा होमस्टे गाउँ तथा थारु समुदायका जनजीवनलगायत विशेष खानेकुराका परिकारहरूले पर्यटकको मन लोभ्याउने गर्छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

कञ्चनपुरमा पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गेका साथै अन्य जीव–जन्तुहरू पनि प्रशस्त देख्न पाइन्छ । भित्र जिप ड्राइभ, हात्ती सफारी र जङ्गल वाक गरिन्छ । निकुञ्जभित्र साना ठूला धेरै फाँट छन् ।
जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटाभित्र आधा दर्जनभन्दा बढी तालहरू छन् ।शुक्लाफाँटा वन्यजन्तु आरक्ष जङ्गल सफारीका लागि उत्कृष्ट गन्तव्य स्थल हो ।

दोधारा चाँदनी

कञ्चनपुर जिल्लामा रहेको दोधारा चाँदनी पुल पनि नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल हो । यहाँ बर्सेनि हजारौँ स्थानीय र बाह्य पर्यटकहरू दोधारा चाँदनी पुलको अवलोकन गर्न आउने गरेका छन् । यहाँ पुलको अवलोकन गर्ने र पिकनिक मनाउन आउने पर्यटकहरूको भीड हुन्छ । गर्मी मौसममा महाकालीछेउको चिसो हावाको आनन्द लिन पनि आन्तरिक पर्यटकहरू त्यहाँ जाने गर्छन् ।

उग्रतारा मन्दिर

डडेल्धुरा पुग्नेहरूको पहिलो रोजाइ उग्रतारा मन्दिर हुन्छ । यो सुदूरपश्चिमकै ठूलो शक्ति पीठ मानिन्छ । यो मन्दिर डडेल्धुरादेखि ४ किलोमिटर पश्चिमपट्टि छ । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा पर्ने प्रसिद्ध मन्दिर बागबजारबाट करिब ५ किलोमिटर टाढा डडेल्धुरा–बैतडी राजमार्गको पश्चिमतिरको अग्लो तथा रमणीय फाँटमा छ ।

शैलेश्वरी मन्दिर

शैलेश्वरी माताको मन्दिर सुदूरपश्चिमको डोटी जिल्लाअन्तर्गत सिलगढीमा अवस्थित छ । यो मन्दिर यस क्षेत्रकै प्रमुख धार्मिक स्थलको रूपमा रहेको छ । यहाँ हरेक वर्ष जेठ र कात्तिक पूर्णिमाका दिन लक्षबहन महायज्ञ प्राचीनकादेखि हुँदै आएको छ । यहाँ पनि धार्मिक आस्था बोकेका र प्रकृतिको सुन्दरताको आनन्द लिन आन्तरिक र बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्छ ।

निङ्गलासैनी मन्दिर

निङ्गलासैनी मन्दिर बैतडी जिल्लाको देहीमाडौंमा अवस्थित छ । निङ्गलासैनी मन्दिर सुदूरपश्चिम प्रदेशकै प्रमुख मन्दिर मानिन्छ । यस मन्दिरमा हरेक वर्षको बडा दसैँ र चैते दसैँमा राँगा र बोकाको बलि दिने चलन छ । यस मन्दिरमा टाढा टाढाबाट भक्तजन र पर्यटकहरू आउने गर्छन् । पाताल भीमेश्वरजस्ता धार्मिक पर्यटकीय स्थल पनि बैतडीमै पर्छन् ।

खप्तड
पश्चिम नेपालको सेती अञ्चलका ४ पहाडी जिल्लाहरू बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको संगम स्थलमा अवस्थित रहेको खप्तड आन्तरिक र बाह्य पर्यटकको भीड लाग्ने क्षेत्र हो । खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यस वरपर २२ वटा पाटन छन्, जुन अवलोकन गर्दा पर्यटकहरूको मन प्रफुल्ल हुन्छ ।
चारैतिर खस्रु, धुपी सल्ला र लालीगुराँसको घारीका बिचमा रहेको पाटन, रङ्ग विरङ्गी फूलहरू, दह, त्रिवेणी, नाग ढुङ्गा, खप्तड बाबाको आश्रम सुन्दर घनघोर जङ्गल खप्तडको विशेषता हो ।

रामारोशन

अछामको रामारोनलाई बाह्र बण्ड, अठार खण्डका नामले पनि चिनिन्छ । यो क्षेत्रमा रहेका बाह्र वटा ताल र अठार वटा ठूलाठूला चौरले सबै पर्यटकहरूको मन लोभ्याउँछ । प्राकृतिक दृष्टिकोणले अत्यन्तै रमणीय यो ठाउँमा बाह्र प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ ।

बडिमालिका

भू स्वर्गको उपमा पाएको बडिमालिका नेपालकै उत्कृष्ट गन्तव्य हो । भगवान् शिवले लामो समय बसोबास गरेको मानिने बडिमालिका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसाबले पनि महत्त्वपूर्ण छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडिमालिकाका गहना हुन् । यहाँका सौन्दर्य भनेकै विशाल फाँटहरू हुन् ।

अपि बेस क्याम्प

दार्चुलाको अपि हिमाल (७,१३२ मिटर) आधार शिविरसम्म पदयात्रा रमाइलो हुन्छ । जहाँ अपि र नम्पा हिमालसँगै रिङदेपानी, कायाकोर, कालीढुंगा र बबईलगायतका हिउँचुली लहरै रहेका छन् । चमेलिया नदी अपि र नम्पा चुलीको फेदबाट बहन्छ । नेपाल प्रेसबाट