विद्यार्थी विदेशिनबाट रोक्न गुणस्तरीय सीप विकास शिक्षामा जोड दिनुपर्छः नियन्त्रक जोशी

विद्यार्थी विदेशिनबाट रोक्न गुणस्तरीय सीप विकास शिक्षामा जोड दिनुपर्छः नियन्त्रक जोशी

कैलाली । दैनिक विद्यार्थी विदेशिने क्रम बढेको उल्लेख गर्दै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले विद्यार्थी विदेशिनबाट रोक्न गुणस्तरीय सीप विकास शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।

सोमबार घोडाघोडी बहुमुखी क्याम्पसको बहुउद्देश्यीय परीक्षा भवनको शिलान्यास गर्दै उनले सो भनाइ राखेका हुन् । उनले कक्षा १२ उत्तीर्ण गरेकामध्ये करिब ६२ हजार विद्यार्थी विदेश गएको बताए । कोभिडपछि एक लाख २६ हजार विद्यार्थी विदेश गएको परीक्षा नियन्त्रक जोशीले बताए ।

नियन्त्रक जोशीले भने, “दैनिक १०० देखि १५० जना विदेश जाने विद्यार्थी कागजातमा हस्ताक्षर गराउन मकहाँ आउनेगरेका छन् । किन जान्छौ ? विदेश भनेर सोध्छु, विद्यार्थीले पढाइअनुसारको पारिश्रमिक नपाउने र सिस्टम राम्रो नभएको बताउँछन् ।”

विदेश पढ्न गएका विद्यार्थीमध्ये पाँचदेखि दश प्रतिशतमात्र नेपाल फर्कने बताउँदै नियन्त्रक जोशीले विद्यार्थीलाई विदेशिनबाट रोक्न नेपालका क्याम्पसले सीपमूलक र व्यावहारिक शिक्षा दिनुपर्ने बताए ।

परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक वर्षभित्र परीक्षा सञ्चालन, नतिजा प्रकाशन र प्रमाणपत्र दिनेगरी क्यालेण्डर तयार गरेको उनले जानकारी दिए । मर्यादित परीक्षा सञ्चालन हुन नसकेका क्याम्पसको परीक्षा केन्द्र हटाउने कार्य भएको बताउँदै नियन्त्रक जोशीले आवश्यक भौतिक पूर्वाधार, विद्यार्थी संख्याका आधारमा परीक्षा केन्द्र निर्धारण गरिने बताए ।

उनले विद्यार्थीलाई गुणस्तरीय शिक्षामा जोड दिएर क्याम्पसले परीक्षामा विद्यार्थीले आफ्नै क्षमताले लेख्ने क्षमताको विकास गराउनुपर्ने बताए । १६ बर्षदेखि परीक्षा केन्द्र रहेको घोडाघोडी बहुमुखी क्याम्पसको परीक्षा केन्द्र हटाइएको सन्दर्भमा बोल्दै नियन्त्रक जोशीले परीक्षा सञ्चालनको अवस्थामा केन्द्रको अनुगमनमा केही अमर्यादित कार्य भेटिएपछि केन्द्र हटाएको जानकारी दिए ।

नियन्त्रक जोशीले परीक्षा नियन्त्रण कार्यालय समयमै परीक्षा सञ्चालन गर्ने, नतिजा निकाल्नेदेखि प्रमाणपत्र दिनेगरी काम अघि बढाएको उल्लेख गरे । उनले भने, “चारवर्षे कार्यक्रमलाई चार वर्षमै प्रमाणपत्र दिनेगरी काम अगाडि बढाएका छौं ।”

कार्यक्रममा क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय नेपालगञ्जका सहनियन्त्रक सुमन गौतम, घोडाघोडी नगरपालिकाका उपप्रमुख गुलियाकुमारी चौधरीलगायतको उपस्थिति थियो । कार्यक्रम घोडाघोडी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष विष्णुप्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो । 

सुदूरपश्चिम प्रदेश सरकार, प्रदेश नीति तथा योजना आयोगको आर्थिक बर्ष २०८०–८१ विशेष अनुदान अन्तर्गत ५० लाख रुपियाँ लागतमा उक्त परीक्षा भवन निर्माण हुनेभएको छ ।