कैलालीमा विश्व मत्स्य दिवस विविध कार्यक्रम गरि मनाइयो

कैलालीमा विश्व मत्स्य दिवस विविध कार्यक्रम गरि मनाइयो

धनगढी । विश्व मत्स्य दिवसको अवसरमा कैलालीमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । मत्स्य विकास निर्देशनालयको आयोजना तथा कैलाली जिल्ला कृषि माछा व्यवसायी संघको सहकार्यमा कैलालीको कैलारी गाउँपालिकामा मंगलबार विभिन्न कार्यक्रम गरि दिवस मनाइएको हो ।

दिवसको एक समारोहकाबिच प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीले समुदघाटन गरे । उनले मोहना नदीमा दश हजार माछाका भुर्रा राखेर दिवसको समुदघाटन गरेका हुन् । 

मन्त्री चौधरीले माछापालक कृषकले व्यवसायीक ढंगले काम गर्न जरुरी रहेको बताए । ‘कैलाली र कञ्चनपुरमात्र नभई सुदूरपश्चिममा प्राकृतिक तालहरुको सम्भावना बढी छ तर, त्यस अनुसार यहाँ माछा उत्पादन हुन सकेको छैन’ मन्त्री रामेश्वर चौधरीले भने –‘यहाँ तीन महिना प्रर्याप्तमात्रामा माछा पाइन्छ । बाँकी समय उत्पादन हुँदैन् । अब किसानहरुले १२ महिना माछा पाउने गरि काम गर्न जरुरी रहेको छ ।’

मन्त्री चौधरीले सुदूरपश्चिम प्रदेश सरकारले प्राकृतिक जलासयमा मत्स्य विकास कार्यक्रमलाई अघि बढाउन लागेको बताउँदै ‘प्राकृतिक जलासय कार्यक्रमअन्र्तगत यस वर्ष कैलालीको कैलारी र बर्दगोरिया गाउँपालिकाको चार सय विगाहामा कार्यक्रम अघि बढाइने छ । कार्यक्रममा सहभागि हुन इच्छुकले सात सदस्यी सञ्चालक समिति गठन गर्नुपर्ने प्रावधान रहेको छ ।’

कैलारी गाउँपालिकाकी उपाध्यक्ष भगवती चौधरीले कैलारीमा माछापालनमा आकर्षण बढेको भएपनि फर्म दर्ता नहुँदा समस्या हुने गरेको बताइन् । उनले भनिन –‘माछापालक कृषकहरुलाई अनुदान दिन तथा प्रोत्साहन कार्यक्रम अघि बढाउन गाउँपालिकामा फर्म दर्ता गर्दा सहज हुन्छ तर, यहाका कोही पनि दर्ता प्रक्रियामा आएका छैनन् ।’ उनले प्राकृतिक ताललाई ठेक्कामा लगाउँदा विवाद बढ्दै गएको बताउँदै –‘सबै पक्षलाई राखेर छलफल गराई विवाद समाधान गर्न जरुरी रहेको छ ।’ उनले न्यायिक समितिमा प्राकृतिक तालका उजुरी पर्ने गरेको बताइन् ।

कार्यक्रममा माछापालक कृषक, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । 

यसअघि कैलारी गाउँपालिकाको मोहना नदीमा मत्स्य विकास निर्देशनालय गेटाले दश हजार भुर्रा पालनका लागि मंगलबार छोडेको थियो । मन्त्री रामेश्वर चौधरीले ती भुर्रा नदीमा राखेका थिए ।

मोहनालाई प्राकृतिक जलासय बनाउने उद्देश्यले त्यहाँ माछाका भुर्रा छोडिएको निर्देशनालयका निर्मल खातीले बताए । उनले भने –‘पछिल्लो समयमा विषादी प्रयोग, करेन्ट लगाउने लगायतका कारण नदीहरुमा स्थानीय माछाहरु कमी हुँदै गएको छ । माछाको संरक्षण तथा प्रर्वद्धन गर्न नदीमा भुर्रा छोडिएको हो ।’

लालीमा तीन सय ८९ हेक्टर घोलको क्षेत्रफल रहेको छ । घोलमा मत्स्य विकास कार्यक्रमको सम्भाव्यता अध्ययन अनुसार कैलालीमा जलासय क्षेत्रफल दुई सय ५४ हेक्टर रहेकोमा एक सय तीन हेक्टरमात्र प्रयोगमा आएको जनाइएको छ ।