बझाङ: जहाँ विद्यार्थी फोहोर बोकेर विद्यालय जान्छन्

बझाङ: जहाँ विद्यार्थी फोहोर बोकेर विद्यालय जान्छन्

डिबी बिष्ट/बझाङ । विद्यालयमा विद्यार्थीले के लैजान्छन् ? जवाफ हुन्छ, किताब, कापी, कलम र खानेकुरा । तर, बझाङका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी किताब, कापी र कलमका अलावा किराना पसलबाट काम नलाग्ने भनेर फालिएका फोहोर पनि बोकेर जान्छन् ।

यो जवाफ सुन्दा जो कोही पनि अचम्मित हुन्छन् । तर, सत्य यही नै हो ।

बझाङको थलारा गाउँपालिकामा रहेका यस्ता धेरै विद्यालय छन्, जसले गाउँगाउँमा रहेका विभिन्न पसलबाट निस्किएका फोहोर आफूले लिने गर्छन् ।

यस्तै, फोहोर लिने एउटा विद्यालय हो, थलारा गाउँपालिका–३ गडीगाउँस्थित धौलदेउ आभारभूत विद्यालय ।

गाउँमा फ्याँकिएका चाउचाउ, विस्कुटका काटुन तथा खोस्टा, बिडी चुरोटका खाली बट्टा, तास, मकैका खोया, विभिन्न काठका ससाना छेस्का, मादक पदार्थ तथा पेय पदार्थका रित्ता बोतल, प्लास्टिकका बोतल आदि सबै विद्यालयले लिने गरेको छ । फालिएका यी सामानबाट यहाँका शिक्षक शिक्षिकाले रंगरोगन गरेर शैक्षिक सामग्री निर्माण गर्ने गरेका छन् । यिनै शैक्षिक सामग्री प्रयोग गरेर बालबालिकालाई अध्यापन गराउने गरिएको छ ।

यूएमएनको आर्थिक सहयोगमा प्रगतिशील युवा समाजको सहकार्य तथा थलारा गाउँपालिकाको समन्वयात्मक क्रियाकलापमा आधारित सिकाइ परियोजना लागू भएपछि यस विद्यालयका शिक्षकले फोहोरमार्फत शैक्षिक सामग्री निर्माण गरेर विद्यार्थीलाई अध्यापन गराउन सुरु गरेका छन् ।

यस परियोजनाले शैक्षिक सामग्री निर्माण गर्ने तालिम दिएपछि आफूहरूलाई सहज भएको यस विद्यालयमा अध्यापन गराउँदै आएकी शिक्षिका ललिता बोहराले बताइन् ।

सुरुमा गाउँमा भएको फोहोर विद्यालयमा ल्याउँदा गाउँलेहरूले नै आफूहरूलाई गिज्याउने गरेको उनको अनुभव छ । ‘मलाई फोहोर टिप्ने मेडम, फोहोरले विद्यालय भर्न थालिन्, यसले केटाकेटीलाई के शिक्षा देलिन् रु नानाथरी भन्दै अभिभावकले नै कुरा काट्न सुरु गरेका थिए,’ उनले भनिन्, ‘जब मैले त्यसै फोहोरबाट विभिन्न शैक्षिक सामग्री निर्माण गरी केटाकेटीलाई पढाउन सुरु गरें, त्यसपछि ती शैक्षिक सामग्री देख्ने अभिभावक जिल्ल परे । पहिला गाउँमा भएका फोहोर आफैंले टिपेर ल्याउनुपथ्र्यो । तर, अहिले उनीहरूले नै ससाना आफ्ना छोराछोरीको हातमा नै फोहोर संकलन गरेर पठाउने गरेका छन् ।’

अहिले आफूहरूलाई शैक्षिक सामग्री निर्माण गर्न निकै सहज भएको उनले बताइन् । ‘अहिले शैक्षिक सामग्री निर्माण गर्न अभिभावक र विद्यार्थीको पनि सहयोग मिलेको छ,’ उनले भनिन् ।

फोहोरबाट शैक्षिक सामग्री निर्माण हुन थालेपछि गाउँमा जथाभाबी रूपमा देखिने फोहोरमा कमी आएको छ भने अर्कोतर्फ कामै नलाग्ने फोहोरबाट शैक्षिक सामग्रीहरू निर्माण गरी बालबालिकालाई अध्यापन गराउन सजिलो भएको छ । यसरी शैक्षिक सामग्रीको प्रयोग गरेर अध्यापन गराउँदा ससाना बालबालिका ध्यान दिएर सिक्ने र यसले शैक्षिक गुणस्तरमा समेत सुधार आएको विद्यालयका प्रध्यानाध्यापक प्रेम बोहराले बताए ।

गाउँमा भएको फोहोर संकलन गरेर विद्यालयमा लिने काम सो विद्यालयमा मात्रै नभई वडा नम्बर–३ स्थित नवादेउ आधारभूत विद्यालयका शिक्षक शिक्षिकाले पनि गरिरहेका छन् ।

यस विद्यालयमा पनि फोहोरबाट विभिन्न प्रकारका काटुन, डल, गुच्चा, विभिन्न चित्र निर्माण गरेर पढाउँदा तिनै फोहोरबाट तयार पारेका सामग्रीको प्रयोग गर्ने गरिएको वडा नम्बर–३ का वडाअध्यक्ष प्रकाश भण्डारीले बताए ।

‘सुरुमा सबै अभिभावकले यसरी फोहोर लिएको देख्दा हत्तेरिका यिनीहरूले के गर्न थाले रु फोहोर लिएर विद्यालयमा किन जान थालेका होलान् रु छोराछोरीलाई पढाउन छोडेर बालबालिकालाई फोहोर लिएर आऊ किन भनेको होला रु भन्दै कुरा काट्न सुरु गरेका थिए । जब त्यसै फोहोरबाट विभिन्न शैक्षिक सामग्रीले बालबालिका पढ्ने कक्षाकोठा फोहोरबाट तयार पारिएका शैक्षिक सामग्रीले रंगीचंगी भएको देखे र सुने, समाजमा कुरा काट्ने अभिभावकले पनि शिक्षक–शिक्षिकालाई धन्यवाद दिन सुरु गरे,’ वडाध्यक्ष भण्डारीले भने ।