सामाजिक सञ्जालबाट चर्चामा आएकी नव्यश्रीको सर्ट फिल्म ‘महाकाली’ मंसिर २४ मा आउने

सामाजिक सञ्जालबाट चर्चामा आएकी नव्यश्रीको सर्ट फिल्म ‘महाकाली’ मंसिर २४ मा आउने

काठमाडौं । सामाजिक सञ्जालबाट चर्चामा आएकी मोडल नव्यश्री अभिनित पहिलो सर्ट फिल्म ‘महाकाली’को स्ट्रिमिङ मिति सार्वजनिक गरिएको छ । निर्माण टिमले केही दिनअघि फिल्मको पोस्टर सार्वजनिक गरिसकेको छ ।

फिल्म आगामी डिसेम्बर १० अर्थात् मंसिर २४ गतेदेखि ओएसआर डिजिटल युट्युब च्यानलमार्फत स्ट्रिमिङ हुने जनाइएको छ । सार्वजनिक पोस्टरमा फिल्मकी शीर्ष अभिनेत्री नव्यश्रीलाई देवी महाकालीको रुपमा चित्रण गरिएको छ ।

काजिश श्रेष्ठ निर्देशित सर्ट फिल्मले आफ्नो कष्टपूर्ण जीवनबाट मुक्ति पाउन दुई युवतीले गर्ने संघर्ष र देवी महाकालीको भक्तिको कथा प्रस्तुत गर्छ । फिल्ममा नव्यश्रीका साथै लोमस शर्माको पनि मुख्य भूमिका छ ।

‘सोसल मिडियामार्फत धेरैले मलाई माया गर्नुभयो । अब फिल्मलाई पनि माया दिनहुनेछ भन्ने विश्वास छ,’ नव्यश्रीले अनलाइनखबरसँग भनिन्, ‘लामो समयदेखि फिल्ममा करिअर बनाउन लागिरहेको छु, पहिलो कोसिसस्वरुप यो सर्ट फिल्म हो ।’

१४ वर्षकै उमेरमा मोडलिङ करिअर सुरु गरेकी नव्यश्रीले सन् २०१८ मा १५ वर्षको उमेरमा प्लानेट मिस इण्डिया वर्ल्ड, मिस टिन रिपब्लिक अफ इण्डिया र मिस नर्थइस्टको उपाधि जितिसकेकी छन् । सामाजिक सञ्जालमा आफ्ना पोस्टहरू सेयर गर्न थालेसँगै उनी भाइरल बनेकी हुन् । वास्तविक नाम मञ्जु थापा रहेकी नव्यश्री हाल भारतमै बसोबास गर्दै आइरहेकी छन् । उनको पुर्ख्यौली घर विराटनगर हो ।

सर्ट फिल्म ‘महाकाली’लाई नव्यश्रीकै लेखन तथा निर्माण छ भने फिल्मलाई अर्जुन तिवारीले खिचेका हुन् । श्रीधर अधिकारीको संगीत, सरोज श्रेष्ठको कोरियोग्राफी, एलिना चौहानको स्वर रहेको फिल्मलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।