संगीतकी साक्षात् देवी भन्दै रणवीर कपुरले छोए मेनुका पौडेलको पाउ

संगीतकी साक्षात् देवी भन्दै रणवीर कपुरले छोए मेनुका पौडेलको पाउ

काठमाडौं । बलिउड अभिनेता रणवीर कपुरले नेपाली गायिका मेनुका पौडेललाई ‘संगीतकी देवी’ भन्दै प्रशंसा गरेका छन् । इण्डियन आइडलको पछिल्लो एपिसोडमा रणवीरले मेनुकाको पाउ छोएर सम्मान दर्शाए ।

आगामी फिल्म ‘एनिमल’ प्रवर्द्धनका लागि रणवीर र अभिनेत्री रश्मिका मन्दाना इण्डियन आइडलमा पुगेका थिए । मेनुकाले रणवीरकै अघिल्लो फिल्म ‘अगर तुम साथ हो’ गाएर मन्त्रमुग्ध तुल्याएकी थिइन् ।

मेनुकाको गीतमा भावविह्वल रणवीर र रश्मिकाले स्टेजमा गएर मेनुकालाई सम्मान दर्शाए । रणवीरले साक्षत देवी भन्दै निहुरिएर मेनुकाको पाउ छोए । मेनुकालाई अँगाल्दै उनले भने, ‘मेनुकाजी मेरो नाम रणवीर हो । म तपाईंबाट आशिर्वाद लिन चाहन्छु । जब श्रेयाजीले ठूलो मञ्चमा गाउँदा दर्शकलाई यस्तै महसुस भएको हुन सक्छ । श्रेयाजीलाई देवी भन्छौं । देवी नम्बर २ हाम्रो साथमा साक्षात् रुपमा उपस्थित हुनुहुन्छ ।’

साथै रणवीरले मेनुकाको लागि भोट पनि मागे । मेनुकाले इण्डियन आइडलमा पछिल्लो समय चर्चा बटुलिरहेकी छन् ।