धनगढीले आफनै ऐनविपरित त्रिनगर विद्यालयको शिक्षक सरुवा गरेपछि...

धनगढीले आफनै ऐनविपरित त्रिनगर विद्यालयको शिक्षक सरुवा गरेपछि...

धनगढी । धनगढी उपमहानगरपालिकाले शिक्षक दरबन्दी मिलानका आधार र प्रक्रिया विपरित शिक्षक सरुवा गरेको पाइएको छ ।

उपमहागनरपालिकाले त्रिनगर माध्यामिक विद्यालयका शिक्षकको नियमविपरित सरुवा गरेको पाइएको हो ।

नगरपालिकाको विद्यालय समायोजन ऐन २०८० को परिच्छेद ३ शिक्षक दरबन्दी मिलानका आधार र प्रक्रिया तोकिएको छ । सो ऐन अनुसार माध्यामिक तहमा कक्षा १ देखि १२ सञ्चालन भएका विद्यालयमा बालविकास शिक्षक एक, आधारभुत प्राथमिक तहका चार, आधारभुत (निम्न माध्यामिक) तहका अंग्रेजी, विज्ञान वा गणित र  नेपाली र सामाजिक विषयमा एक–एक गरी चार, माध्यामिक तह (कक्षा ९–१०) तहका अंग्रेजी, विज्ञान वा गणित र  नेपाली र सामाजिक र एक ऐच्छिक गरी पाँच, माध्यामिक तह (कक्षा ११ र १२) तहको ऐच्छिक विषयमा दुई समेत गरी जम्मा १६ जनाको विद्यालयमा न्यूनतम शिक्षक दरबन्दी रहने उल्लेख छ ।

तर, उपमहानगरपालिकाले त्रिनगरमा विज्ञान गणित अध्यापन गराउँदै आएका स्थायी शिक्षक नेत्र कडायतको सरुवा गरेको छ । शिक्षकको सरुवा भएपछि विद्यार्थीहरुले पढ्नबाट वञ्चित हुनुपरेको भन्दै विद्यालयमा तालाबन्दी गरी धनगढी उपमहानगरपालिकामा घेराउ गरेको थिए । ‘हामीलाई विज्ञान र गणित पढाउने शिक्षकको सरुवा गरेको भन्दै सो विषय पढ्न पाउनबाट वञ्चित पारिएको छ’ विद्यार्थीहरु भन्छन् –‘हामीले आफ्नो भविष्यका लागि आवाज उठाउँदै विद्यालयमा तालाबन्दी गरि उपमहानगरपालिका घेराउ गर्न बाँध्य भएका छौं ।’

विद्यालय समायोजन ऐन अनुसार एक शिक्षकले कम्तिमा ५० विद्यार्थीलाई पढाउनुपर्ने व्यवस्था गरेको छ । ‘शिक्षक विद्यार्थी अनुपात विद्यालयमा न्यूनतम शिक्षक दरबन्दी भन्दा बढी कायम गर्ने प्रयोजनका लागि प्रति कक्षा थप ५० जना विद्यार्थी रहेको हुनुपर्ने छ’ सो ऐनमा भनिएको छ । विद्यालयमा अझै २४ वटा शिक्षक आवश्यकता रहेको जनाइएको छ । 

‘उपमहानगरपालिकाले बनाएको ऐन अनुसार विद्यालयमा थप शिक्षकको आवश्यकता रहेको छ । हाम्रामा भएको जनशक्तिलाई अन्यत्र सरुवा नगर्न भन्दा पनि उपमहानगरपालिकाले सुनेन’ विद्यालयका प्राधानाध्यापक भुपाल खडकाले भने –‘राहतका शिक्षक छैनन् । विशेषत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुलाई अध्यापन गराउने शिक्षकको अभाव रहेको छ ।’ 

अहिले स्थायी शिक्षककै अन्यत्र सरुवा गर्दा विद्यार्थीहरु पढ्नबाट वञ्चित हुनुपरेको उनको भनाई छ । ‘स्थायी शिक्षकको सरुवा नगर्न भन्दै स्थानीय तह, प्रदेश सरकार लगायतसंग अनुरोध गरे तर, कुनै सुनुवाई भएन् ।’

त्रिनगर माध्यामिक विद्यालयमा २४ सय बढी विद्यार्थी रहेका छन् । अहिले विद्यालयमा नौ जना स्थायी शिक्षक रहेकोमा कडायतको सरुवा भएसंगै शिक्षक संख्या आठ रहेको छ ।

धनगढीका नगर प्रमुख गोपाल हमालले प्राधानाध्यापक भुपाल खडकाले व्यक्तिगत स्वार्थका लागि आफना विद्यार्थीहरुलाई आन्दोलनमा उत्रारेको बताए । तर, के स्वार्थ उहाँले खुलाएनन् ।