११ प्रदेशको प्रादेशिक संरचना नै वैज्ञानिक हुने : डा. भट्टराई

११ प्रदेशको प्रादेशिक संरचना नै वैज्ञानिक हुने : डा. भट्टराई

धनगढी : समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले ११ प्रदेशको प्रादेशिक संरचना नै वैज्ञानिक हुने बताएका छन् । मंगलवार धनगढीमा कैलाली कञ्चनपुरका थारु अगुवा, मुक्तकमैया लगायतसँगको भेटघाटको क्रममा डा. भट्टराईले सो कुरा बताएका हुन् ।

उनले ११ प्रदेश प्राप्तीको लागि तराईमा संघर्ष हुने निश्चित रहेको दाबी गरे । भट्टराईले हालसम्मको राजनीतिक परिवर्तनलाई अपूूरो क्रान्तिको संज्ञा दिदै सबै असन्तुष्ट पक्षको माग सम्बोधन गर्न १० जोड १ को प्रादेशिक संरचना उपयुक्त रहेको बताए ।

सोही कार्यक्रममा बोल्दै अर्का अध्यक्ष एबम सरकारका उपप्रधान उपेन्द्र यादवले थरुहट आन्दोलन नितान्त राजनीतिक आन्दोलन रहेको बताए ।'थरुहट आन्दोलनमा मेरो पनि संलग्नता छ , टीकापुरमा कार्यक्रम गर्दा बाटोमा अवरोध हुँदा जंगलको बाटो भएर म पनि फर्केकै हुँ 'उनले भने - 'यो मुद्धा राजनीतिक भएकोले फौजदारी न्यायको हिसाब कुनैपनि हालतमा निकास दिँदैन ।

राजनीतिक ढंगले नै निकास हुन्छ ।’ नेपालमा थारु, मधेशी, दलित, जनजातिलगायत उत्पीडनमा परेका समुदायको माग मुद्धा सम्बोधन गर्न १० जोड १ प्रादेशिक संरचना नै वैज्ञानिक रहेकोले आफूहरू अझैपनि १० जोड १ प्रदेशको मान्यतामा आडिग रहेको उनको भनाई छ ।