आफ्नै बचावट गर्दै भ्रम फैलाउँदै नगर प्रमुख हमाल

आफ्नै बचावट गर्दै भ्रम फैलाउँदै नगर प्रमुख हमाल

धनगढी । धनगढी नगर प्रमुख गोपाल हमालले चौराहदेखि कैलालीपुलसम्म नालासहित सडक संरचना २४ मिटरको भएको भन्दै सामाजिक सञ्जालबाट आफ्नो बचावट गरिरहेका छन् ।

मंगलबार आफ्नो गोपाल हमाल नामक पेजमा सञ्चारकर्मीहरुले भ्रामक समाचार फैलाएको भन्दै उनले नालासहित सडक संरचना २४ मिटरभित्र बनीरहेको बताएका हुन् । तर, तत्कालिन ठेक्का सम्झौता हुने क्रममा कालोपत्रे २४ मिटर र चार मिटरको नाला निर्माण गर्ने सहमति भएको थियो ।

हेरौं सम्झौताको डिपिआरः

No description available.

ठेक्का सम्झौता तत्कालिन नगर प्रमुख नृपबहादुर वडको कार्यकालमा भएपनि निर्माण कार्य भने वर्तमान नगर प्रमुख हमालको कार्यकालमा शुरु भएको थियो । तत्कालिन समयमा सडकको क्षेत्राधिकार ३० मिटर कायम गरि २४ मिटरमा कालोपत्रे गराउने भन्दै कालिका कन्स्ट्रक्सनसंग सम्झौता भएको थियो ।

भौतिक संरचना नहटेपछि अहिले २४ मिटरभित्र सम्पूर्ण संरचना निर्माणाधिन अवस्थामा रहेका छन् । 

शहरी विकास तथा भवन डिभिजन कार्यालयका सूचना अधिकारी सौरभ कलौनिले भने –‘अहिले २१ मिटरभित्र कालोपत्रे र तीन मिटरको नाली निर्माण भइरहेको हो ।’

नगर प्रमुख हमालले सडक चौडाई नघटी सम्झौता अनुसारनै भइरहेको दाबी गरेका छन् । नगर प्रमुख हमालले भनेका छन् –‘सडक क्षेत्राधिकार ३० मिटरको हो । अहिले २४ मिटरभित्र चौराहदेखि कैलालीपुलसम्मको सडक संरचना निर्माण भइरहेका छन् ।’

सार्वजनिक तथा संघ संस्थालाई सडक क्षेत्राधिकार कायम गर्नुपर्ने

धनगढी नगर प्रमुख गोपाल हमालले धनगढीको मुख्य सडक राष्ट्रिय राजमार्ग अन्र्तगत पर्ने बताएका छन् । राष्ट्रिय राजमार्ग अन्र्तगत सडकको क्षेत्राधिकार ४२ मिटर हुनुपर्ने उनको भनाई छ ।

उनले सोही अनुसार सो सडकमा रहेका सरकारी, सार्वजनिक तथा संघ संस्थालाई सडक क्षेत्राधिकार कायम गराउने प्रयास भइरहेको बताए । उनले भने –‘सडकको मध्ये भागदेखि २१ मिटर कायम गराउन प्रदेश सरकार तथा सरकारी निकायसंग छलफल भएको र सबै सो अनुसार सहमत रहेका छन् ।’ उनले मुख्य सडकमा रहेका सार्वजनिक संघ–संस्था तथा बैंक, सहकारी, लघुवित्त तथा वित्तिय संघ–संस्थाले पनि सोही सडक क्षेत्राधिकार कायम गर्नुपर्ने बताएका छन् ।

व्यापारीलाई संरक्षण

नगर प्रमुख गोपाल हमालले मुख्य सडकमा रहेका व्यापारीलाई संरक्षण गरेको आशयमा अभिव्यक्ति दिएका छन् । उनले भनेका छन् –‘सडकको मध्ये भागदेखि २१ मिटर सडक चौडाइ गराउँदा व्यापारीको संरचना भत्किन्छकी भन्ने भय रहेको छ । अहिले कैलाली पुलदेखि क्याम्पस रोडसम्मको ३० मिटरको सडक तथा चौराहदेखि कैलालीपुलसम्मको २४ मिटरको सडक निर्माण हुन सकेको छैन् । यो अवस्थामा हामी थप संरचना भत्काएर जनतालाई आजीत बनाउन चाहदैनौं ।’

उनले धनगढीलाई सुन्दर, हरियाली बनाउन सरकारी कार्यालय तथा संघ–संस्थाले सहयोग गर्नुपर्ने बताएका छन् । ‘धनगढीलाई सुन्दर बनाउन मुख्य सडकमा हरियाली, पैदलमार्ग, विसौनि लगायतका संरचना निर्माण गर्नुपर्ने हुन्छ । यसका साथै प्रमुख समस्याका रुपमा रहेको सवारी पार्किङ पनि रहेको छ’ उनले भने –‘यसका लागि जिल्ला प्रशासन कार्यालय, पशु कार्यालय, साल्ट टे«डिङ्ग, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेश प्रहरी कार्यालय लगायतलाई सरकारी निकायलाई राष्ट्रिय सडकको क्षेत्राधिकार कायम गराउन सहमत भएका छन् ।’ 

उनले मुख्य सडकमा रहेका बैंक तथा वित्तिय संस्थाले पनि सोही क्षेत्राधिकार कायम गरि ४२ मिटरमा सर्न अनुरोध गरेका छन् । सो सडकमा साइकल लेन पनि निर्माण गर्नुपर्ने सहमति भएको थियो ।