सुदूरपश्चिम महोत्सवको तयारी पुरा, प्रधानमन्त्री प्रचण्डलाई दश बुँदे मागसहितको दश किलोको माला लगाइने

सुदूरपश्चिम महोत्सवको तयारी पुरा, प्रधानमन्त्री प्रचण्डलाई दश बुँदे मागसहितको दश किलोको माला लगाइने

धनगढी । कैलालीको धनगढीमा भोलीदेखि सुदूरपश्चिम महोत्सव–२०८० शुरु हुँदैछ । ‘दिगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने नाराका साथ शुरु हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको बिहीबार कैलाली उद्योग बाणिज्य संघले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कैलाली उद्योग बाणिज्य संघको आयोजनामा २०६३ सालदेखि सुदूरपश्चिम महोत्सव सञ्चालन हुँदै आएको छ ।

हरेक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुँदै आएको महोत्सव यस वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले समुद्घाटन गर्ने कार्यक्रम तय भएको अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।

‘प्रधानमन्त्री प्रचण्ड महोत्सव उद्घाटनका लागि विहान धनगढी पुग्ने छन्’ उनले भने ।

सुदूरपश्चिम प्रदेशको समग्र आर्थिक समृद्धिको उद्देश्यसहित सञ्चालन हुँदै आएको महोत्सवमार्फत सरकारसमक्ष विकासका विभिन्न माग प्रस्तुत हुँदै आएको छ ।

पहिलो पटक २०६३ सालमा सुदूरपश्चिमको विकासका सवाल समेटेर २१ बँुदे माग सहित महोत्सवका प्रमुख अतिथिलाई २१ किलो फूलको माला लगाइएको थियो । यस पटक १० वटा मागको प्रतिकका रूपमा प्रमुख अतिथीलाई १० किलोको माला लगाइने अध्यक्ष कुँवरले बताए । उनले कलाकारको प्रस्तुती, खानपान, रमाइलो मेला, बालउद्यान, कृषि उपज प्रर्दशनी मुख्य आर्कषण रहेको महोत्सवमा चार सय स्टल रहेको बताए ।

महोत्सव सञ्चालनमा करिब तीन करोडको लगानीमा सम्पन्न हुने महोत्सवमा करिव १० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ । आयोजक संघले महोत्सवमा छ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरेको छ ।

महोत्सवमा बिक्री हुने टीकटको केही रकम दैवी प्रकोप आकस्मिक कोषका लागि दिइने कैलाली उद्योग वाणिज्य संघले जनाएको छ । बिक्री हुने प्रति एक टीकटको एक रुपैया दैवी प्रकोप आकस्मिक कोषका लागि प्रदान गरिने संघका अध्यक्ष कुँवरले बताए ।

‘हामीले दिने रकम धेरै नहोला तर सहयोग अभियान हो । यस्तै अभियानले विगतमा यस क्षेत्रमा थुपै्र काम भएका छन’ अध्यक्ष कुँवरले भने । वर्षेनी दैवी प्रकोपमा करौडो रुपैयाँ बराबरको क्षती हुने गरेको र हजारौं व्यक्ति पीडित हुने गरेकोले सरकारले पीडितको राहतका लागि वितरण गर्दै आएको कोषमा रकम अभाव हुन नदिन सहयोग गरिने उनले बताए ।

कैलाली उद्योग वाणिज्य संघले धनगढी विमानस्थलको कालोपत्रे कामलाई अघि बढाउन महोत्सवबाटै एक रुपैयाँ अभियान शुरु गरेको थियो । धनगढीमा रकम अभावले अधुरा रहेका आयोजना, योजना, पुर्वाधारमा थोरै पनि रकमले केही राहत पुगोस भनेर महोत्सवबाटै एक रुपैया अभियान गरिदै आएको छ ।

यसको प्रभावले धनगढीका केही समस्याहरु समाधान भएको पनि पाईएको अध्यक्ष कुँवरले बताए ।

महोत्सवमा थारु संग्राहालय

हरेक वर्ष महोत्सवलाई प्रभावकारी बनाउन विशेष आकर्षणका गतिविधि हुने गर्दछन् । यस वर्ष महोत्सवमा थारु संग्राहालय मुख्य आकर्षकका रुपमा बनाइएको आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सवमा चौधरी र राना समुदायको संस्कृति, रहनसहन तथा खानपानको संरक्षणका लागि संग्राहालय सहितको अलग गाउँ निर्माण गरिएको संघका अध्यक्ष पुष्प कुँवरले बताए ।