विप्लव समूहद्वारा भक्तपुरमा जग्गा कब्जा

विप्लव समूहद्वारा भक्तपुरमा जग्गा कब्जा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले भक्तपुर जग्गा कव्जा गरेको छ । चाँगुनारायण नगरपालिका २ दुवाकोटमा रहेको एक रोपनी एक दाम जग्गा विप्लव समूहले कब्जा गरेको हो ।

नेकपा जिल्ला जनपरिषद् भक्तपुरअन्तर्गत रहेको नेवाः स्वायत्त प्रदेशले चाँगुनारायण नपा ५ छालिङकी निर्मलाकुमारी पुरी र भक्तपुर नपा १० कमलविनायक निवासी चन्द्रमाया सुवालको संयुक्त नाममा रहेको जग्गा कब्जा गरेको भन्दै जग्गामा कालो ब्यानर र विज्ञप्ती टाँस गरेको थियो ।

चाँगुनारायण नगरपालिका वडा नम्वर २ कित्ता नम्बर १७९८ रहेको उक्त जग्गाको क्षेत्रफल एक रोपनी एक दाम रहेको छ । जिल्ला जनपरिषद् भक्तपुरका प्रमुख एसीको हस्ताक्षर रहेको जेठ २० गतेको प्रेस विज्ञप्तिसहित उक्त जग्गा कब्जा गरेको ब्यानर समेत टाँस भएको हो ।

प्रेस विज्ञप्तिमा भनिएको छः यस भक्तपुर जिल्लाअन्तर्गत चाँगुनारायण नपा वडा नं। २ स्थित दुवाकोटमा कथित भूमाफियाहरूले अनपढ एकल महिलालाई अनेक प्रलोभन तथा दबाब दिई आफ्नै छोराहरूलाई सुकुमबासी बनाएपछि छोराहरूले राज्यका विभिन्न निकायमा न्यायको लागि जाँदा कहींकतैबाट पनि न्याय नपाएपछि हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी भक्तपुर जिल्ला जनपरिषद्को कार्यालयमा निवेदन पर्न आएकोमा हाम्रो जनपरिषद्बाट सो स्थानमा गई त्यहाँका समाजसेवी, बुद्धिजीवी र भद्रभलादमीहरूसँगको छलफलमा पीडित निवेदकहरू कथित भूमाफियाबाट पीडित भएको प्रमाणित भएको हुँदा आजको मितिबाट यो कित्ता न. १७९७ को १–०–१–० जग्गा हाम्रो पार्टीको जिल्ला जनपरिषद्को कब्जामा रहेको सम्पूर्ण जनमानसमा सहर्ष जानकारी गराउँदछौं । यदि यो जग्गालाई पैसा र पहुँचको आधारमा चलखेल गरेमा कडाभन्दा कडा कारबाही गरिनेछ ।

परिषद्का कार्यकर्ताले जग्गा कब्जा गरेपछि जग्गाधनी चन्द्रमायाको घरमै गएर जग्गा कब्जा गरेको पत्र दिएका थिए । जग्गासम्बन्धी मुद्दा उच्च अदालत पाटनमा विचाराधीन अवस्था छ । प्रहरीले जग्गा कब्जा भनी राखिएको नेकपाका झण्डा र ब्यानर हटाइएको छ । भक्तपुर प्रहरीका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले कसैले भन्दैमा वा लेखेर राख्दैमा व्यक्तिको जग्गा कब्जा नहुने बताएका छन् ।