सुदूरपश्चिम महोत्सव २०८० शुरु (फोटोफिचर)

सुदूरपश्चिम महोत्सव २०८० शुरु (फोटोफिचर)

धनगढी । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हरेक वर्ष हुँदै आएको सुदूरपश्चिम महोत्सव २०८० शुक्रबारदेखि शुरु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा शुरु भएको महोत्सवको एक समारोहकाबिच नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले समुदघाटन गरे । सो क्रममा उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले दश बुँदे माग राख्दै प्रधानमन्त्री प्रचण्डलाई दश किलोको माला लगाएका थिए ।

उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका विभिन्न समुदायका मौलिक सांस्कृतिक झाँकी समेत प्रस्तुत भइरहेका छन् । महोत्सवमा कृषि तथा गैरकृषि उपज, बैङ्क तथा वित्तीय, प्रविधि, होटल तथा व्यवसायिक गीरु चार सय बढि स्टलहरू रहेका छन् ।

आजदेखि शुरु भएको महोत्सव पुस २ गतेसम्म चल्ने छ । महोत्सवको अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छन् ।

महोत्सव सञ्चालनमा करिब तीन करोडको लगानीमा सम्पन्न हुने महोत्सवमा करिव १० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ । आयोजक संघले महोत्सवमा छ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरेको छ ।

महोत्सवमा बिक्री हुने टीकटको केही रकम दैवी प्रकोप आकस्मिक कोषका लागि दिइने कैलाली उद्योग वाणिज्य संघले जनाएको छ । बिक्री हुने प्रति एक टीकटको एक रुपैया दैवी प्रकोप आकस्मिक कोषका लागि प्रदान गरिने संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।

हरेक वर्ष महोत्सवलाई प्रभावकारी बनाउन विशेष आकर्षणका गतिविधि हुने गर्दछन् । यस वर्ष महोत्सवमा थारु संग्राहालय मुख्य आकर्षकका रुपमा बनाइएको आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सवमा चौधरी र राना समुदायको संस्कृति, रहनसहन तथा खानपानको संरक्षणका लागि संग्राहालय सहितको अलग गाउँ निर्माण गरिएको संघका अध्यक्ष पुष्प कुँवरले बताए ।