सुदूरपश्चिमको समृद्धिलाई मैले प्राथमिकतामा राखेको छुः प्रधानमन्त्री प्रचण्ड

सुदूरपश्चिमको समृद्धिलाई मैले प्राथमिकतामा राखेको छुः प्रधानमन्त्री प्रचण्ड

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धिका लागि सरकारले प्राथमिकता राखेर काम गरिरहेको बताएका छन् ।

शुक्रबारदेखि कैलाली उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको महोत्सवको समुद्घाटन गर्दै प्रधानमन्त्री दाहालले विकासको दशकमा पहिलो प्राथमिकता सुदूरपश्चिम प्रदेशलाई राखेर काम भइरहेको बताएका हुन् ।

‘म भारत जाँदा होस या चिन जादा भएपनि कार्यक्रम र सहमति गर्दा मेरो दिमागमा अलि बढी आउने सुदूरपश्चिम प्रदेश हो’ उनले भने –‘यस प्रदेशको आर्थिक, सामाजिक, शैक्षिक स्वास्थ्य लगायत सम्पूर्णमा सुधार ल्याउन सरकारले प्राथमिकता दिइरहेको छ ।’

उनले सुदूरपश्चिम विश्वविद्यालय अगाडि बढाउने पहिलो निर्णय गरेको स्मरण गर्दै ‘अहिले सोही विश्वविद्यालय मातहात कृषि क्याम्पस लगायत १५ वटा क्याम्पसलाई आंगिक बनाउने निर्णय पनि मेरो पालामा भएको छ ।’
उनले भारत भ्रमणमा गएको समयमा दोधारा चाँदनी सुख्खा बन्दरगाहको विषयमा ठोस सहमति भएको बताए । उनले भने –‘सुख्खा बन्दरगाहको निर्माण प्रक्रिया अघि पनि बढेको छ ।’

उनले सुदूरपश्चिम प्रदेशलाई शिक्षा र स्वास्थ्यको हबका रुपमा अघि बढाउने बताए । ‘गेटा मेडिकल कलेजका लागि आवश्यक ऐन संसदमा पेश भइसकेको छ । दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको मस्यौदा व्यवस्थापिका संसदमा छ । यो हेल्थ साइन्स युनिभर्सिटि देशकै पहिलो हो । छिट्टै विधेयक पारित गरेर कक्षा सञ्चालन गर्ने अवस्थामा हामी पुग्ने छौं’ उनले भने ‘विधेयक प्रस्तुत हुनु खेलाची कुरो होइन् । गलत सन्देश प्रवाहमा विश्वास नगर्नुहोस् ।’

प्रधानमन्त्री प्रचण्डले भारतसंग विशेष प्राथमिकता दिएर पञ्चेश्वर जलविद्युत अगाडि बढाउने बारेमा सहमति भएको, महाकाली नदीमा मोटरेवल पुल अनुदानमा बनाउने निर्णय भएको बताए ।

उनले फाप्लालाई आउने मन्त्रीपरिषदको बैठकबाट राष्ट्रिय गौरबको आयोजनामा राख्ने प्रतिवद्धता व्यक्त गरे । उनले उरै–भञ्ज्याङ्ग तथा तिंकर जोड्ने सडकलाई विशेष प्राथमिकता दिइने बताए ।

उनले भने –‘महाकाली कोरिडोर अघि बढाउने कुरामा पटक–पटक अर्थ मन्त्रालयमा तथां सुदूरपश्चिम प्रदेशका जनप्रतिनिधिहरुसंग छलफल भएको छ । कर्णाली जलविद्युत परियोजना बनाउने घोषणा मन्त्रीपरिषदबाट भइसकेको छ । कर्णाली–चीसापानि परियोजना मेरो ठुलो सपना हो ।’

उनले प्रादेशिक बजेट निर्माण गर्दा सुदूरपश्चिमलाई न्याय दिने कार्य आफुले गरेको बताए ।

उनले भने –‘भीमदत्त राजमार्गलाई दुई लेन बनाउने प्रतिवद्धता गर्दछु । धनगढीको क्वारेन्टाइन निर्माण गर्ने मन्त्रीपरिषदको निर्णय भइसकेको छ ।’