नेकपामा लम्बियो कार्यविभाजनको किचलो, सचिवालय बैठक भोलि फेरि बस्ने

नेकपामा लम्बियो कार्यविभाजनको किचलो, सचिवालय बैठक भोलि फेरि बस्ने

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यव्यस्तताका कारण जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो लगाउन बसेको नेकपा सचिवालयको बैठक आज पनि बिना निष्कर्ष टुंगिएको छ । 

भोलि बिहान ९ बजे बस्नेगरी आजको बैठक टुंगिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘जिल्ला कमिटिको इन्चार्ज र सहइन्चार्ज तोक्नेबारे छलफल भयो, नीतिबारे गम्भीर छलफल भयो,’ श्रेष्ठले भने, ‘प्रधानमन्त्रीको कार्य व्यस्तता कारण समयले साथ दिएन । भोलि बिहान ९ बजे सचिवालय बैठक बसेर टुंगो लगाउँछौं ।’ 

प्रवक्ता श्रेण्ठले छलफल राम्रोसँग भएकोे र नमिल्ने कुरा नरहेको दाबी गरे । जिल्ला इन्चार्जमा सहमति भएपछि भोलि अन्य एजेण्डामा प्रवेश गरिने उनले बताए । लामो समयपछि मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विभाग गठनबारे छलफल भएको थियो ।

एउटा व्यक्तिलाई दुई पद दिने कि नदिने भन्नेमा विवाद भएपछि मंगलवारको बैठक अनिर्णीत भएको थियो । बैठकमा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहित ९ जना सदस्यको उपस्थिति थियो ।