‘एनिमल’ले नवौं दिनसम्म विश्वभर ६०० करोड भारु कमाउँदा नेपालमा कति ?

‘एनिमल’ले नवौं दिनसम्म विश्वभर ६०० करोड भारु कमाउँदा नेपालमा कति ?

काठमाडौं । रणवीर कपुर स्टारर ‘एनिमल’ले भारत मात्र होइन नेपालसहित विश्वभर नै उछाल कमाइ गरिरहको छ । सार्वजनिक बिदा नभएको दोस्रो आइतबार नेपालको प्रमुख मल्टिप्लेक्समा अकुपेन्सी ७० प्रतिशत हाराहारी थियो जुन ‘दुर्लभ’ घटना हो ।

वितरण स्रोतले नेपालमा फिल्मको कमाइ दोस्रो शनिबारसम्म ८ करोड ग्रस नेरुभन्दा बढी रहेको जनाएको छ । तर, चलचित्र विकास बोर्डले यसको आधिकारिक पुष्टि गरिसकेको छैन ।

भारतमा भने यसले दोस्रो सप्ताहन्तसम्म कमाइको कीर्तिमान रचेको छ । ‘एनिमल’ भारतीय फिल्म इतिहासमा दोस्रो सप्ताहन्त पनि १०० करोड नेट भारु कमाउने पहिलो फिल्म बनेको छ । दोस्रो शनिबारसम्म भारतभर फिल्मको कमाइ ३९८ करोड भारु रहेको बलिउड हंगामाले जनाएको छ ।

नवौं दिनमा मात्रै यसले ३४ करोड भारु कमायो । यो कमाइसँगै भारतमा फिल्मले ‘दंगल’को लाइफटाइम कलेक्सनलाई उछिनेको छ । सोही अवधिमा फिल्मको विश्वब्यापी कमाई ६६०।८९ करोड भारु रह्यो ।

मंगलबार सजिलैसँग ४ सय करोड भारु कमाउने यो फिल्म अब भने पाँच सय करोडको दौडमा छ । ५ सय करोडमा अहिले पठान, गदर २ र जवान मात्र समावेश छन् । सन्दीप रेड्डी भांगा निर्देशित फिल्मले सलमान खानको ‘टाइगर जिन्दा है’को लाइफटाइम कलेक्सनलाई पनि उछिनेको छ ।

साथै, विश्वभर सर्वकालिन धेरै कमाउने फिल्मको शीर्ष १० मा स्थान सुरक्षित गरेको छ । फिल्मको शीर्ष भूमिकामा रश्मिका मन्दाना, अनिल कपुर, बबी देओलको पनि अभिनय छ । डिसेम्बर २१ मा शाहरुख खानको ‘डंकी’ प्रदर्शन तयारीमा रहेकाले त्यसअघि ‘एनिमल’ले राम्रो कमाइ गर्ने प्रक्षेपण गरिएको छ ।