‘पूजार सार्की’पछि सिक्किमको फिल्म ‘मायाका रंगहरु’मा जोडिए पल शाह

‘पूजार सार्की’पछि सिक्किमको फिल्म ‘मायाका रंगहरु’मा जोडिए पल शाह

काठमाडौं । दिनेश राउतको सोसल-ड्रामा ‘पूजार सार्की’पछि अभिनेता पल शाह केवल तामाङको रोमान्टिक-ड्रामा ‘मायाका रंगहरु कलर्स अफ लभ’मा अनुबन्धित भएका छन् । यसै महिना ‘मायावी’को छायांकन सकेपछि उनको ‘लाइनअप’मा दुई फिल्म जोडिएका हुन् ।

‘पूजार सार्की’मा पलसँगै आर्यन सिग्देल र प्रदीप खड्का यसअघि नै अनुबन्धित छन् । निर्देशक राउतले शीर्ष भूमिकामा पल हुने जनाए । कास्कीकोटमा छायांकन हुने तयारीमा रहेको यो फिल्मले एक कम्युनिष्ट पात्रले समाज बदल्न हिँडेको संघर्षको कथा भन्छ ।

तीन चलेका अभिनेता एउटै फिल्ममा हुनुलाई महत्वका साथ लिइएको छ । खासगरि, निर्देशक राउतको मित्रताको फ्याक्टरले यी तीन कलाकार एउटै फिल्ममा जोडिएको अनुमान गर्न सकिन्छ । माघ पहिलो सातादेखि राउतले ‘पूजार सार्की’ छायांकन थाल्दैछन् ।

सोमबार पलले नयाँ फिल्म ‘मायाका रंगहरु’ साइन गरे । यो फिल्ममा केवल तामाङको निर्माण एवं निर्देशन हुने जनाइएको छ । नेपाल र भारतबीचको संयुक्त लगानीमा बन्न लागेको यो फिल्मको सुटिङ भारतको पूर्वोत्तर राज्य सिक्किममा हुने निर्माताद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा बन्ने यो फिल्मको छायांकन भारतको सिक्किम र दार्जिलिङसहित नेपालको इलाम र काठमाडौंमा हुने उल्लेख छ । यो फिल्ममा ६० प्रतिशत फिल्मकर्मी भारत र बाँकी नेपालबाट हुने जनाइएको छ । नेपाली र हिन्दीमा छायांकन गरिने फिल्मका बाँकी कलाकारबारे खुलाइएको छैन ।