महाकाली करिडोरको कञ्चनपुर–डडेल्धुरा खण्डको ट्रयाक खुल्यो

महाकाली करिडोरको कञ्चनपुर–डडेल्धुरा खण्डको ट्रयाक खुल्यो

डडेल्धुरा। महाकाली करिडोर भएर डडेल्धुरादेखि कञ्चनपुरसम्म आवतजावत गर्न सकिने भएको छ। कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको सिमल्टासम्म ट्याक खोल्ने काम सम्पन्न भएसंगै करिडोरको डडेल्धुरा–कञ्चनपुर खण्डमा मोटर चलेको हो।

करिडोरअन्तर्गत ब्रह्मदेवदेखि डडेल्धुराको करालीसम्म १५ किलोमिटर ट्याक खोल्ने जिम्मा दिवारशनिदेव जेभीले पाएको थियो। ०७८ असार २८ गते ठेक्का सम्झौता भएकोमा सोमबार ट्याक खोल्ने काम सम्पन्न भएपछि मोटर चलेको हो। महाकाली करिडोरका योजना प्रमुख लक्ष्मणदत्त जोशीले १५ किलोमिटर ट्याक खोल्ने काम सम्पन्न भएसंगै अब ब्रह्मदेवदेखि डडेल्धुराको सिमल्टासम्म ३८ किलोमिटर सडकमा मोटर चलेको जानकारी दिए।

उनका अनुसार महाकाली करिडोरअन्तर्गत डडेल्धुरामा मात्रै अझै ३१ किलोमिटर ट्याक खोल्न बाँकी छ । ‘भागेश्वर गाउँपालिका क्षेत्रमा ट्याक खोल्न बाँकी छ,’ योजना प्रमुख जोशीले भने, ‘सो क्षेत्रमा थुप्रै रुख छन् । दुई साता अगाडि मात्रै हामी रुख कटानको आदेश पाएका छौं । अब काम अगाडि बढ्छ ।’ महाकाली करिडोरमार्फत कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुरा, बैतडी र दार्चुलाको तिंकर जोड्ने योजना छ।

ब्रह्मदेवदेखि तिंकरसम्म ४ सय १३ किलोमिटर रहेकोमा ब्रह्मदेवदेखि दार्चुलाको तुसरपानीसम्म ३ सय ३४ किलोमिटर सडक महाकाली करिडोरको योजना कार्यालय र त्यहाँदेखि तिंकरसम्म ७९ किलोमिटर नेपाली सेनाले बनाउने जिम्मा पाएको छ। योजना कार्यालयले जिम्मा पाएको ३ सय ३४ किलोमिटरमध्ये २ सय ३१ किलोमिटर ट्याक खोल्ने काम सम्पन्न भएको योजना प्रमुख जोशीले बताए।

‘३२ किलोमिटर दार्चुला र ५ किलोमिटर डडेल्धुरा गरि ३७ किलोमिटर कालोपत्रे गर्न एउट ठेक्का चालू छ,’ योजना प्रमुख जोशीले भने, ‘बाँकी १६ वटा ट्याक निर्माणका लागि ठेक्का चालू अवस्थामा छन् ।’ महाकाली करिडोर निर्माणका लागि गत आर्थिक वर्षमा ५४ करोड खर्च भएको थियो भने यो वर्ष संघीय सरकारले २९ करोड ६० लाख बजेट विनियोजन गरेको योजना कार्यालयले जनाएको छ ।