दार्चुलाका दुर्गम बस्तीमा खडेरीले सुके पानीका मुहान

दार्चुलाका दुर्गम बस्तीमा खडेरीले सुके पानीका मुहान

दार्चुला (कुणी) : दार्चुलाका दुर्गम बस्तीमा सुक्खायाम सुरु भएसँगै खानेपानीको समस्या चुलिएको छ। मुहान सुक्दा जिल्लाका दर्जन बढी बस्तीमा खानेपानीको हाहाकार हुन थालेको छ।

शैल्यशिखर नगरपालिका, लेकम र मालिकार्जुन गाउँपालिकाका विभिन्न बस्तीमा फागुनदेखि खानेपानी अभाव सुरु हुन्छ। यहाँका दर्जनौं बस्तीमा खानेपानी अभाव छ । विशेषगरी लेकम गाउँपालिकाको कुणी, सल्ला, रातामाटा, खरकडा, रिठाचौपाता, उचाकोट, बडीपुरमा भने समस्या बढी रहेको स्थानीय चन्द्रदेव जोशीले बताए।

‘पहिले खानेपानीका २ योजना बने तर, संरक्षण नहुँदा सुक्खायाममा समस्या भोग्नुपरेको हो,’ उनले भने, ‘ती खानेपानी योजनाका धारा र पाइप अझै छन। तर, मुहानमा पानी नहुँदा योजनाबाट स्थानीयले उपभोग गर्न पाएका छैनन्।’ अहिले शैल्यशिखर र मालिकार्जुनका सीमा क्षेत्र दोबाटाको १२ किमि टाढाको मुहानबाट पानी ओसार्नुपर्छ । त्यहाँ पनि बस्तीका लागि ३ र ४ दिनपछि करिब डेढ घण्टाका लागि पानी आउने गरेको छ । नजिक भएका पानीका मुहान सुक्दा सर्वसाधारणलाई पानीको जोहो गर्न समस्या परेको हो ।

‘खेतीपाती, सिँचाइ तथा अन्य प्रयोजनका लागि त परै जाओस् पिउनसमेत पानी नपाउने अवस्था आएको छ,’ शैल्यशिखर नगरपालिका–७ वनतोलीका कृष्णसिंह बोहराले भने’, स्थानीय सबै मुहानमा पानी सुकिसकेको छ ।’ पानी नसुक्ने मुहान पुग्न २ घण्टाभन्दा बढी हिँड्नु पर्छ।

‘गाउँनजिक मुहान नहुँदा धेरै टाढाबाट पाइपमार्फत पानी वितरण गर्नुपर्ने स्थिति छ’, उनले भने, ‘एउटै मुहानको पानी ४ गाउँमा वितरण गरिएको छ।’ अहिलेको सिजनमा मूलमा पानी कम हुँदै गएपछि गाउँमा दुई दिनपछि पानी आउने पालो पुग्ने गरेको मालिकार्जुन गाउँपालिका ५ डाँडाकोटका दानी गिरीले बताए। गाउँमा पानी नआउने दिन गाउँभन्दा तल रहेको अढाई घण्टाको दूरीमा रहेको न्वालो (कुवा) बाट पानी बोक्नुपर्ने बाध्यता रहेको उनले बताए।

जिल्लाका पानीका मूल बाढीपहिरोले क्षतिग्रस्त बनाएपछि समस्या भएको जिल्ला खानेपानी कार्यालयले जनाएको छ । जलवायु परिवर्तन र पूर्वाधार निर्माणले पानीका मूलहरूमा असर पर्दा पछिल्ला वर्षमा खानेपानीको समस्या बढदै गएको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिंह धामीले बताए ।

दीर्घकालीन समाधान गर्न बृहत योजना बनाउनु आवश्यक रहेको उनले बताए। गतवर्ष मात्र खानेपानीको क्षेत्रमा १८ करोड रुपैयाँ खर्च भए पनि अझै समस्या समाधान हुन सकेको छैन।

अन्नपूर्ण बाट