८६ रन बन्दा १५ विकेट झरेपछि...

८६ रन बन्दा १५ विकेट झरेपछि...

क्रिकेट खेलमा कहिलेकाहिं अनौठो घटना घट्ने गरेको छ । कतिपय मैदानमा ७ सय रन बन्दा समेत ५ विकेट खस्न मुश्किल हुन्छ भने कतिपय खेलमा सय रन नबन्दै दुबै टोली अलआउट हुन सक्छन् ।

नेपालको घरेलु क्रिकेट प्रतियोगितामा यस्तै अचम्मको घटना घटेको छ । दुई विभागिय टोली सशस्त्र प्रहरी बल (एपीएफ) क्लब र नेपाल पुलिस क्लब बिचको क्रिकेट खेलमा ८३ रन बन्दा १५ विकेट झरेको छ ।

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको दोश्रो सेमिफाइनल अन्तर्गत आज भएको खेलमा डिफेन्डीङ च्याम्पियन एपीएफ क्लब पहिलो इनिङमा ४१ रन बनाउँदै अलआउट भएको छ । राष्ट्रिय तथा यू–१९ टोलीबाट खेलिसकेका खेलाडीहरुको बाहुल्य रहेको यि दुई टोली बिच यस्तो ‘लो स्कोरिङ’ खेल हुनुमा मैदानको अवस्था र वातावरणको पनि उत्तिकै हात रहेको बताइन्छ ।

स्पीनर सहायक ट्रयाकमा आज नेपाली स्पीनरहरुको तगडा प्रतिस्पर्धा हुँदा ब्याटसम्यानहरु भने निरिह बनेका छन् । दुई इनिङको खेल समाप्तहुँदा जम्मा दुई जना खेलाडीले मात्र दोहोरो संख्यामा रन बनाउन सकेका छन् ।

टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले २२.१ ओभरमा अलआउट हुँदै ४१ रन मात्र बनाउन सक्यो । पुलिसको तर्फबाट स्पीनरहरु ललित राजवंशी, सागर ढकाल र कुशल भुर्तेल घातक बलर सिद्ध भए । कुशलले ५ ओभर बलिङ गर्दै १ मेडनका साथ ७ रन दिइ ३ विकेट लिए । त्यस्तै सागरले ८.१ ओभर बलिङ गर्दै ३ मेडनका साथ १५ रन दिइ ३ विकेट लिए । त्यस्तै पेशल ललित राजवंशीले एफीएफको तल्लो क्रमको ब्याटिङ लाइन ध्वस्त पार्दै ६ ओभरमा ८ रन दिइ ४ विकेट लिए ।

एपीएफको लागि शरद भेषावकर र पृथु बाँस्कोटाले समान ७ रन बनाए भने अमर सिंह राउटेलाले ६ र सन्दीप जोराले ५ रन बनाए ।

जवाफी ब्याटिङ गरेको पुलिसको पनि शुरुवात राम्रो हुन सकेन । टोलीले ५ रन बनाउँदा ३ विकेट गुमाएपछि पुलिसको टोली पनि संकटमा परेको थियो ।

यस्तोमा ब्याटिङ गर्न आएका ब्याटसम्यान दिपेन्द्र सिंह ऐरीले २ चौका सहित १४ बलमा १३ रन बनाएपछि पुलिसले लक्ष्य पछ्याउने सम्भावना देखिएको थियो । पाँचौ विकेटको रुपमा उनी पनि आउट भएपछि खेल रोमाञ्चक बनेको थियो।

पवन शर्राफ आइ आक्रामक रुपमा खेल्दै १४ बलमा ४ चौका सहित २१ रन बनाएपछि पुलिसले ९.३ ओभरमा ५ विकेट गुमाउँदै ४५ रन बनाइ खेल जितेको छ ।

स्पीनरलाई अति साथ रहेको मैदानमा एपीएफका बसन्त रेग्मीले ५ ओभरमा २० रन खर्चिदै सर्वाधिक ३ विकेट लिए । त्यस्तै शरद भेषावकरले ४.३ ओभरमा २२ रन खर्चिदै २ विकेट लिए । शर्राफले शरदको पाँचौ ओभरको ३ बलमा लगातार ३ चौका प्रहार गर्दै पुलिसको जित सुनिश्चीत गराएका थिए ।

कठिन जित हात पारेको पुलिसले अब शनिबार हुने फाइनल खेलमा त्रिभुवन आर्मी क्लबको सामना गर्ने तालिका रहेको छ ।