ग्यालेक्सी टीभी बन्द

ग्यालेक्सी टीभी बन्द

काठमाडौं । फोरके प्रविधिको नाममा सुरु भएको ग्यालेक्सी फोरके टीभी बन्द भएको छ । करिब तीन वर्षअघि तत्कालीन सञ्चारकर्मी एवं हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अगुवाइमा सुरु भएको यो टीभी बन्द भएको हो ।

फोरके प्रविधिमा टेलिभिजन सुरु गर्दा ग्यालेक्सीले विशेष चर्चा पाएको थियो । अधिकांश च्यानल एचडी प्रविधिमा समेत अपग्रेड हुन नसकिरहेको अवस्थामा ग्यालेक्सीले फोरकेमा प्रसारण थालेको थियो । त्यस्तै टेलिभिजनमा क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपति, रामायण, सारेगम, लाल मोहर, सिधा कुरा, आविष्कार लगायतका कार्यक्रम प्रसारण हुने घोषणा गरिएको थियो । 

तर टेलिभिजन सञ्चालनमा आएको ३४ महिनापछि ग्यालेक्सी फोरके बन्द हुन पुगेको छ । टीभीका मालिक गीतेन्द्र बहादुर राई (जीबी राई) सहकारी ठगी प्रकरणमा फरार भएपछि टेलिभिजनले नियमित कार्यक्रम प्रसारण गर्न छोडेको छ ।

राईमाथि सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १६ अर्ब रुपैयाँ बढी रकम अपचलन गरेको आरोप छ । उक्त सहकारीका पूर्वअध्यक्ष र हालका संरक्षक रहेका राईले आकर्षक ब्याज दिने प्रलोभनमा सर्वसाधारण व्यक्तिहरूलाई सहकारीमा पैसा जम्मा गर्न लगाएर  रकम हिनामिना गरेको भन्दै जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ । अदालतले भदौ २४ मा पक्राउ पुर्जी जारी गरेपनि हालसम्म उनी फरार छन् ।

राई सम्पर्कमा नआएपछि टेलिभिजनले ६ दिनयता नियमित कार्यक्रम प्रसारण बन्द गरेको छ । फेसबुक, युट्यब लगायत टीभीका टीभीका सामाजिक सञ्जाल अकाउन्टमा नयाँ अपडेट छैन । अहिले उक्त टीभीमा गीतमात्रै प्रसारण भइरहेको छ ।