अदुवाको बजार खोज्दै कृषक

अदुवाको बजार खोज्दै कृषक

अछाम । अछामका चार पालिकामा यस वर्ष १८० मेट्रिक टन अदुवा उत्पादन भएको छ । जिल्लाको पञ्चदेवल विनायक, कमलबजार, साफेबगर नगरपालिका र मेल्लेख गाउँपालिकाका कृषकले अदुवाको उत्पादन गरेका हुन् । 

चार पालिकाका करिब एक हजार दुई सयभन्दा बढी कृषकले यस वर्ष प्रतिव्यक्ति १५० किलोग्रामभन्दा बढी अदुवा उत्पादन गरेका छन् । 

चार वटै पालिकामा कृषक समूह बनाएर अदुवा खेती भइरहेको छ । पञ्चदेवल विनायक नगरपालिका–१ की अदुवा उत्पादक कृषक नामसरा देवकोटाले आफ्नो समूहका २२ जना महिलाले अदुवा उत्पादन गरेको बताए। उनका अनुसार समूहका कृषकले साढे तीन मेट्रिक टन बराबरको अदुवा उत्पादन गरेका छन् । चार वटै पालिकामा ५४ वटा कृषक समूहले अदुवा उत्पादन गरेका हुन । 

कृषकले उत्पादन गरेको अदुवाको बजारीकरणमा भने कृषकलाई सास्ती भएको छ । एकै पटक ठुलो मात्रामा अदुवा उत्पादन भएपछि स्थानीय बजारमा खपत हुन नसक्दा बिक्रीमा समस्या भएको हो । मेल्लेख गाउँपालिका–१ की अदुवा कृषक कमलाकुमारी साउद धामीले उत्पादन गरेको अदुवाले बजार नपाएको गुनासो गरे ।

मेल्लेख गाउँपालिका–५ का कृषक दीर्घराज अधिकारीले आफूहरूले उत्पादन गरेको अदुवाले बजार नपाउँदा समस्या भएको बताए। उत्पादन भएको अदुवा स्थानीय बजारमा खपत नहुँदा अछामका कृषक बजार जिल्लाबाहिर अदुवाको बजार खोज्न थालेका छन् ।