हावाहुरीका कारण घाइते सबैको उपचार प्रदेश सरकारले गर्ने

हावाहुरीका कारण घाइते सबैको उपचार प्रदेश सरकारले गर्ने

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा बिहीबार आएको विनाशकारी हावाहुरीबाट घाइते भएका सबेको उपचार प्रदेश सरकारले गर्ने निर्णय गरेको छ। प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले पत्रकार सम्मेलन गरी सम्पूर्णका क्षतिकाे विवरण संकलन गरी राहत घाेषणा गर्ने बताए। अहिले सुरक्षा निकायले क्षतिकाे विवरण संकलन गरिरहेकाे छ।

मन्त्री शाहले हावाहुरीका कारण विद्युत, खानेपानी, टेलीफाेन लगायतका सेवा अवरूद्ध भएकाे बताए। 'राजमार्ग अवरूद्ध छैन। कैलालीकाे हुलाकी राजमार्गमा रूख ढलेकाले आवागमनमा समस्या चैं छ। सुरक्षा निकायलाइ तत्काल सडक सुचारू गर्न निर्देशन दिइसकेकाे छु,' उनले भने।

प्रदेश सरकारले मृतकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थय लाभको कामनासमेत गरेको छ। विपदको घडीमा प्रदेश सरकारले आआफनो ठाउँबाट सहयोग गर्न समेत अपिल गरेको छ।

बिहीबार रातीको हावाहुरीबाट कैलालीमा दुई जनाकाे मृत्यु भएकाे छ भने एक सय जना घाइते भएका छन्।

कैलालीको टीकापुर नगरपालिका-२, राजीपुरमा कुखुराको खोर भत्किँदा च्यापिएर ४७ वर्षीया लाहानु चौधरीको मृत्यु भएको हो भने कैलालीकै गोदावरी नगरपालिका–८ मा हावाहुरीको समयमा टिपरसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक वीरबहादुर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश डाँगीले बताए।

कैलालीमा हावाहुरीमा परी ७६ र चट्याङबाट एक गरी ७७ र कञ्चनपुरमा २३ जना घाइते भएका  थिए। घाइतेमध्ये कञ्चनपुरका १५ र कैलालीका ६६ जना सामान्य उपचार गरी घर फर्किएका छन्।

कञ्चनपुरका ८ जनाकाे कैलालीकाे सेती अञ्चल अस्पतालमा उपचार भइरहेकाे छ। सुरक्षा प्रमुखहरूका अनुसार १० जना गम्भीर अवस्थामा छन्। तीमध्ये दुई जनालाइ भारत, दुई काेहलपुर, दुई पदमा, तीन सेती अञ्चल र एक जनाकाे निसर्ग अस्पतालमा उपचार भइरहेकाे छ।

यसैगरी, नेकपा कैलालीले प्रेस विज्ञप्ति जारी गरेर हावाहुरीबाट पीडितकाे उद्धार, उपचार गर्न, राहत दिन र पुनर्निर्माण गर्न माग गरेकाे छ। नेपाली कांग्रेस संसदीय दलकाे कार्यालयले पनि पीडितलाई तत्काल राहत उपलब्ध गराउन माग गरेकाे छ। 

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले घाइतेहरुको उपचार र क्षतिको विवरण संकलन गरी क्षतिपूर्तिको व्यवस्था गरी जनतालाई राहत दिन सरकारसँग माग गरेको छ।