‘ए मेरो हजुर ५’ ल्याउँदै झरना, भन्छिन्- ‘फ्रेस स्टोरी’मा काम हुँदैछ

‘ए मेरो हजुर ५’ ल्याउँदै झरना, भन्छिन्- ‘फ्रेस स्टोरी’मा काम हुँदैछ

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२४ को शुभकामना दिंदै निर्देशक झरना थापाले ‘ए मेरो हजुर’को पाँचौं श्रृंखला ल्याउनेबारे महत्वपूर्ण खुलासा गरिन् । जहाँ ह्यासट्यागमा उक्त फिल्मको नाम उल्लेख छ ।

यसबारे अनलाइनखबरले थापालाई जिज्ञासा राखेको थियो । जसमा उनले ‘ए मेरो हजुर ५’ को छायांकन आउँदो भदौदेखि सुरु हुने बताइन् । ‘अहिले हामी स्क्रिप्टमा काम गरिरहेका छौं । आउने भदौदेखि छायांकन सुरु हुन्छ,’ उनले भनिन् । प्रदर्शन चाहिं २०८२ सालको नयाँ वर्षमा हुने झरनाको भनाइ छ ।


कलाकारबारे तत्कालै निधो भइनसकेको बताइन् । अनमोल केसी र सुहाना थापाबारे यसबारे नसोचिएको उनले बताइन् । ‘अहिले हामी स्क्रिप्टमै केन्द्रित छौं । एउटा फ्रेस कन्टेन्ट लिएर आउने तयारीमा छौं,’ झरनाले भनिन् । यो फिल्मलाई उनी स्वयंले निर्देशन गर्नेछिन् ।

झरना निर्देशित पछिल्लो फिल्म ‘एक भगवत् गीता’ थियो । विवाद र चर्चाबीच यो फिल्म २०८० सालमा रिलिज भएको थियो । ‘ए मेरो हजुर’ चाहिं २२ वर्षअघि रिलिज भएको थियो । उक्त फिल्मको श्रृंखलाको रुपमा अहिले पाँचौं सिक्वेल बन्न लागेको हो ।