धनगढी उपमहानगरको अनुरोधमा बिना कारण प्रहरीले थुन्यो एक व्यक्ति

धनगढी उपमहानगरको अनुरोधमा बिना कारण प्रहरीले थुन्यो एक व्यक्ति

धनगढी । भारतबाट आयात हुने बस्तुमा कर संकलन गर्दै आएको ठेक्का कम्पनिका एक व्यक्तिलाई प्रहरीले बिना कारण थुनामा राखेको पाइएको छ ।

धनगढी उपमहानगरपालिकाको अनुरोधमा जिल्ला प्रहरी कार्यालयको टोलीले सोनी कन्स्ट्रक्सन, कृष्णपुर कम्पनिमा कार्यरत हरि भट्टराईलाई पक्राउ गरि थुनामा राखेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक कुलदिप चन्दले धनगढी उपमहानगरपालिकाको अनुरोधमा भट्टराइलाई पक्राउ गरेको बताए । उनले भने –‘आयात भएर आउने सामाग्रीमा जथाभावी कर लिएको गुनासोका आधारमा उपमहानगरको अनुरोधमा भट्टराईलाई पक्राउ गरिएको हो ।’ 

उनका अनुसार मंगलबार पक्राउ परेका भट्टराईलाई बुधबार दिउँसो प्रहरीले छोडेको छ । भट्टराइले कसैले लिखित वा मौखिक उजुरी गरेर आफुलाई प्रहरीले पक्राउ गरेकोबारे जानकारी नभएको बताए ।

ठेक्का अनुसारनै कर लिइरहेको छुः कम्पनि

धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा भारतबाट आयात हुने मासुजन्य सामान, तरकारी तथा फलफुलजन्य र कोइला/गट्टु प्रदुषण जन्य सामाग्रीमा कर लगाएको छ । सो कार्यको ठेक्का कृष्णपुरमा रहेको सोनी कन्स्ट्रक्सनले लिएको छ ।

सो कम्पनिले कार्यदेश अनुसार कर असुल गर्दा उपमहानगरपालिकाले विभिन्न कारण देखाउँदै समस्या दिइरहेको कम्पनिको दाबी छ । ‘हामीले ठेक्का भएका विषयमामात्र कर लिइरहेका छौं’ कम्पनिका हरि भट्टराइले भने –‘अहिले कोलतार प्रदुषण गर्ने सामाग्री होइन त्यसमा कर नकाट्नुस भन्ने कुरा आयो । हामीले त्यो प्रदुषण गर्ने सामाग्री किन होइन भनी पत्र काटेर दिन भन्यौं । त्यसको जवाफ आएन् ।’ उनले तत्कालसम्म कर नकाट्ने भनेर काट्न छोडेको बताए ।

उनले भने –‘अर्को पटक फेरी कोइलालाई पनि कर नकाट्न भनी निर्देशन आयो । पत्र आधिकारिक रुपमा पनि पुगेको छैन् । हामीले सम्झौता गरे अनुसार कर लिदै गर्दा कसैको प्रलोभनमा परि सहमतिपत्र विपरित उपमहानगरपालिकाले कार्य गर्नुभएन् ।’

उपमहानगर भन्छ– हामीलाई थाहा छैन्

निर्माण कम्पनिका व्यक्तिलाई पक्राउ गराउने धनगढी उपमहानगरपालिका आफै बेखबर भएको प्रतिक्रिया दिन्छ ।

धनगढीका नगर प्रमुख गोपाल हमालले राजश्वको विषय भएकाले यसबारे आफुलाई कुनै जानकारी नभएको बताए । उनले भने –‘यो विषय राजश्व शाखाको हो । यसबारेमा मलाई कुनै थाहा छैन । त्यतै सोध्नुहोस् ।’

उपमहानगरपालिकाको राजश्व शाखाका प्रमुख लेखनाथ ओझाले उपमहानगरपालिकाले नियमअनुसार भइरहेको कार्यमा कुनै अवरोध नगरेको बताए । उनले भने –‘जे सहमतिमा छ । त्यही हुन्छ । त्यसविपरित केही हुन्न ।’ कर्मचारीलाई पक्राउ गरेकोबारे उनले आफुले थाहा नपाएको बताए । ‘कस्ले, किन र कतिखेर मान्छे पक्राउ गर्यो ? त्यो कुरा म भर्खर थाहा पाउँदैछु ।’

कम्पनिको प्रशासनलाई पत्र

प्रहरीले आफुखुशी बिना कारण काम गर्ने कर्मचारीलाई भ्यानमा राखेर लगेपछि कम्पनिल प्रहरी कार्यालय कैलालीमार्फत प्रशासनलाई पत्र पठाएको छ । ‘धनगढी उपमहानगरपालिकाले भारतबाट आयात हुने सरसफाई प्रदुषण शूल्क संकलनका लागि ३० दिने सूचना बमोजिम हाम्रो फर्म बढीबढाउमा सबैभन्दा धेरै ७९ लाख ९९ हजार नौ सय एक कबोल रकम गरि असार २८ गते प्रथम किस्ता २६ लाख ६६ हजार छ सय ३३ रकम जम्मा गरि ठेक्का सम्झौता अनुसार पट्टापुर्जा र कार्यदेश दिई हामीले कार्य सञ्चालन गर्दै आइरहेका छौं’ पत्रमा भनिएको छ –‘हामीले कार्यदेश र ठेक्काको सम्झौता मुताविक कार्य गर्दै गर्दा प्रहरीले हाम्रो काम गर्न खटाएका कर्मचारी हरि भट्टराइलाई प्रहरी भ्यानमा राखी लगेको छ ।’

उनले आफुहरुले कुनै गल्ती नगरेको र गल्ती भए कारबाही सहन तयार रहेको बताउँदै –‘जुन कुरामा प्रहरीको कुनै अधिकार छैन । त्यहाँ किन हष्तक्षेप गर्यो । ठेक्का सम्झौता भएको छ । सहमति अनुसार काम भइरहेको छ । सहमति पत्र विपरित कार्य भए त्यसका अन्य सर्तहरु पनि छन् । तर, उपमहानगरपालिकाले प्रहरी लगाएर कर्मचारी किन पक्राउ गरायो ?’