युट्युब ट्रेन्डिङमा प्रकाश सपुतको ‘मुटु कटक्कै’देखि ‘एनिमल’को गीतसम्म

युट्युब ट्रेन्डिङमा प्रकाश सपुतको ‘मुटु कटक्कै’देखि ‘एनिमल’को गीतसम्म

काठमाडौं । पछिल्लो साता पनि युट्युबको नेपाल ट्रेन्डिङमा म्युजिक भिडियो, फिल्मका गीत र सिरिजको वर्चस्व छ । छिटफुट रुपमा समसामयिक घटनाक्रमका भिडियो पनि समेटिएका छन् ।

युट्युबका चारवटा ट्रेन्डिङ खण्डमध्ये ‘नाउ’तर्फको शीर्ष स्थानमा ९ दिनअघि रिलिज भएको प्रकाश सपुतको गीत ‘मुटु कटक्कै’ छ । म्युजिक खण्डतर्फ भने बलिउड फिल्म ‘एनिमल’को गीत ‘पेहेली भी में’ शीर्षस्थानमा छ ।

ट्रेन्डिङको ‘नाउ’ खण्डको चर्चा गरौं । प्रकाश सपुतको गीत माथि हुँदा दोस्रो स्थानमा राजु मास्टरको सिरियल ‘सकस’को नयाँ भाग दोस्रो स्थानमा छ । बीचमा छोटा भिडियो ट्रेन्डिङमा छन् ।

दशौं स्थानमा भोजपुरी फिल्म ‘राजा डोली लेके आजा’ ट्रेन्डिङ भइरहेको छ । १२ औं स्थानमा सिरिज ‘सकस’को सातौं भाग छ । कमेडियन एलिश राईको प्र्यांक भिडियो, प्रमोद खरेल र रोजिना बस्नेतको गीत ‘तिम्रो साथ बिना’, खुमन अधिकारी र अस्मिता डीसीको लाइभ दोहोरी त्यसपछि क्रमशः ट्रेन्डिङमा छन् ।

रोचक कुरा के छ भने म्युजिक खण्डतर्फ फिल्म ‘एनिमल’को गीत ‘पेहेली भी में’ झण्डै तीन सातादेखि ट्रेन्डिङमा छ । एनिमलको यो गीतमा रणवीर कपुर र तृप्ति डिमरी फिचर्ड छन् । बेडसिनको दृश्य समेटिएको यो गीतको भिजअुल फिल्म रिलिज भएसँगै चर्चामा छ ।

चिराग खड्काको नयाँ गीत ‘स्पिड’, सुशान्त केसीको ‘झ्यालबाट’ दोस्रो र तेस्रो स्थानमा छन् । प्रमोद खरेलको नयाँ गीत ‘तिम्रो साथ बिना’ ट्रेन्डिङको पाँचौं स्थानमा छ ।

मुभिज खण्डतर्फ ‘सलार’को ट्रेलर शीर्षस्थानमा हुँदा यशकुमारको म्युजिकल फिल्म ‘तिमी छौ र त’को ट्रेलर तेस्रो स्थानमा छ । त्यसपछि क्रमशः भारतीय फिल्म र सिरिजका ट्रेलर ट्रेन्डिङमा छन् ।

पछिल्लो समय नयाँ भिडियो रिलिजमा सुस्तता देखिंदा लामो समयसम्म पुरानै भिडियो ट्रेन्डिङमा रहिरहेका छन् । ‘एनिमल’को गीत तीन सातादेखि ट्रेन्डिङको शीर्षस्थानमा देखिनुले दर्शकको रुचि र चाहनालाई समेत दर्शाउँछ ।