अध्यक्ष पदका उम्मेदवार रेश्म भन्छन्– ‘मेरो पदलाई निर्वाचन आयोगले मान्छ, मान्नुपर्छ

अध्यक्ष पदका उम्मेदवार रेश्म भन्छन्– ‘मेरो पदलाई निर्वाचन आयोगले मान्छ, मान्नुपर्छ

धनगढी । टीकापुर घटनाका मुख्य अभियूक्त हुन रेश्मलाल चौधरी । तीनै चौधरीले नागरिक उन्मुक्ति पार्टीको प्रथम अधिवेशनबाट अध्यक्ष पदमा एकल उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिले घोषणा नगरेपनि अध्यक्षमा पदमा उनले उम्मेदवारी दर्ता गराएको जनाइएको छ । जिल्ला, उच्च र सर्वोच्च अदालतले दोषी ठहर गरिसकेको चौधरीको अध्यक्ष पदलाई निर्वाचन आयोगले मान्यता दिने वा नदिनेबारे बहस शुरु भएको छ ।

निर्विरोध अध्यक्ष बनेका चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य थिए । अहिलेसम्म पार्टीको संरक्षक रहेका चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । तर उनी लामो समय जेलमा बसेर छुटे ।

अध्यक्ष पदका दाबेदार रेश्म भन्छन् –‘अध्यक्षका लागि म योग्य छु । मेरो पदलाई निर्वाचन आयोगले मान्छ र मान्नुपर्र्छ । आयोगको कुनै दफाले पनि केही गर्दैन् ।’

चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिइएको थियो । निर्वाचन आयोग सुदूरपश्चिम प्रदेशका निमित्त प्रमुख प्रेमराज भट्टले भने –‘फौजदारी अभियोगमा जेलभित्र रहेको भए अध्यक्ष पदलाई मान्यता दिइन्थेन । तर, राष्ट्रपतिबाट आममाफी पाएकाले मान्यता दिने नदिनेबारे स्पष्ट छैन् ।’ उनले यस विषयमा सर्वोच्चको ब्याख्य पछि थाहा हुने बताए ।

महाधिवेशनबाट पार्टी अध्यक्षसहित एकजना सहअध्यक्ष, एक जना महासचिव, सात जना सचिव, सात जना उपाध्यक्ष, सात जना सहसचिव र एक जना कोषाध्यक्ष गरी ३३ पदाधिकारी चयन हुने छन् ।