छात्राले धानेका क्याम्पस

छात्राले धानेका क्याम्पस

अछाम । भर्ना हुनेको संख्या न्यून र कक्षा छाड्नेको संख्या बढ्न थालेपछि पहाडी जिल्लाका सामुदायिक क्याम्पस बन्द हुने अवस्थामा पुग्न थालेका छन् । अछामका ७ वटै क्याम्पसमा नयाँ भर्ना हुने विद्यार्थी दर घट्न थालेको छ । जति भर्ना हुन्छन्, ती पनि छात्रामात्रै । मंगलसेनस्थित अछाम बहुमुखी क्याम्पसका प्रमुख छत्र विष्टका अनुसार शिक्षा र व्यवस्थापन संकायका विद्यार्थी तेस्रो र चौथो वर्ष नपढेरै हराउने गरेका छन् ।

‘हाम्रो क्याम्पसमा ८० प्रतिशतभन्दा बढी छात्रा छन् तर अन्तिम वर्षसम्म पढ्ने र परीक्षा दिने विद्यार्थी धेरै कम छन्,’ विष्टले भने, ‘छात्रहरू १२ कक्षासम्म पास गरेर वैदेशिक रोजगारीतिर आकर्षित हुन्छन् । गाउँमा छोरामान्छे नै छैनन् । यहाँका क्याम्पस त घरबाट टाढा जान नसेकका छोरीहरूमात्रै पढ्ने जस्ता भएका छन् ।’

अध्ययनका लागि देशबाहिर जाँदा १२ पास अनिवार्य भएका कारण मात्रै विद्यार्थी भर्ना हुने गरेको उनले बताए । ‘पहिले विद्यालय, क्याम्पसमा छात्र बढी हुन्थे । छात्रा निकै कम हुन्थे । अहिले क्याम्पस नै छात्राले गर्दा चलेका छन् । छात्रा पनि नियमित छैनन् ।’

स्नातक तह पास गरिसकेपछि पनि रोजगारी निश्चित नभएको, घरभन्दा बाहिर बसेर पढ्नुपर्ने र प्रतिफल नपाइने बाध्यतालगायत कारण क्याम्पसहरूमा विद्यार्थी भर्ना कम हुन थालेका हुन् । विद्यार्थीलाई उद्यमशीलतासँग जोड्नुपर्ने विष्टले बताए । ‘विद्यार्थीलाई उद्यमशीलतासँग जोड्नका लागि यस वर्ष हामीले विभिन्न योजना समेटेका छौं,’ उनले भने, ‘पढाइसँगै विद्यार्थीलाई व्यावसायिक बनाउनका लागि मौरी, कुखुरा, कालिज पालनको योजना बनाएका छौं । यसका लागि सरकारका विभिन्न निकायसँग आर्थिक सहयोग पनि मागिरहेका छौं ।’ विद्यार्थीलाई व्यवसाय र उद्यमसँग जोड्न नसके चाडै नै विद्यार्थी अभावमा क्याम्पस बन्द हुन सक्ने उनले बताए ।

विनायकमा रहेको पञ्चदेवल क्याम्पस भने राजनीति गर्ने केन्द्रका रूपमा रहेको क्याम्पस प्रमुख विनिता अधिकारी बताउँछिन् । विभिन्न राजनीतिक दलका सदस्य सञ्चालक समितिमा आउनका लागि मात्रै होडबाजी गर्ने र व्यवस्थापनमा चासो नदिने गरेको उनले बताइन् । ‘भौतिक संरचनाबिनाको क्याम्पसमा हरेक राजनीतिक दलको चुनावको एजेण्डा बन्छ । तर सुधार कहिल्यै हुँदैन,’ उनले भनिन्, ‘एकातिर क्याम्पसप्रति विद्यार्थीको आकर्षण घटिरहेको छ । ८० प्रतिशतभन्दा बढी छात्राहरू मात्रै छन् । उनीहरू पनि नियमित पढ्दैनन् । अर्कोतिर क्याम्पसमा राजनीतिक दलहरूको सिधा हस्तक्षेप छ ।’ शिक्षा सुधारभन्दा पनि कसरी त्यताबाट राजनीति गर्न सकिन्छ भन्नेमा मात्रै नेताहरूको कसरत हुने उनले बताइन् । क्याम्पसमा नियमित आउने विद्यार्थीका लागि विषयगत शिक्षकको व्यवस्था पनि गरेको उनले बताइन् । ‘अहिले बीबीएस र बीएड पढाइ हुन्छ । क्याम्पसलाई सुधार गरेर शैक्षिक गुणस्तर बढाउनु पर्ने हो । तर हाम्रो क्याम्पसमा भौतिक संरचनासम्म छैन,’ उनले भनिन् ।

अछामको मेल्लेखस्थित जनशिखा क्यापसमा पनि ८० प्रतिशतभन्दा बढी छात्रा रहेका छन् । ‘क्याम्पसमा भएका तीन सय विद्यार्थीमा ६५ जना जति नियमित पढ्न आउँछन् । त्यसमा नियमित आउने छात्रको संख्या चार छ,’ उनले भने, ‘गाउँका छोरीले हाम्रा क्याम्पस धानिदिएका छन् ।’ उनका अनुसार विवाह गरिसकेपछि पढाइ नै छाड्ने छात्राको संख्या बढी रहेको छ । ‘पहिलो र दोस्रो वर्ष पढ्छन् । त्यसपछि बिहे भयो भने पढ्न आउँदैनन् । छात्राहरूले पनि पढ्न छाडे भने क्याम्पस खाली हुन्छन्,’ उनले भने ।

सुदूरपश्चिममा रहेका ८३ सामुदायिक क्याम्पसमा विद्यार्थी संख्या घट्दै गएको कैलाश बहुमुखी क्याम्पसका प्रमुख एवं नेपाल पब्लिक क्याम्प्स संघ सुदूरपश्चिमका अध्यक्ष ईश्वर सोडारीले बताए । ‘स्नातक तहको तेस्रो र चौथो वर्षमा परीक्षा दिन आइदिनूस् भनेर घरघरमा गएर बोलाउनु पर्ने अवस्था छ,’ उनले भने, ‘अहिलेका युवाले नेपालको उच्च शिक्षालाई विश्वास गरिरहेका छैनन् । चार वर्षसम्म स्नातक पढेर केही प्रगति हुँदैन भन्ने सोच हाबी भएको छ ।’

चुलोचौकोमा काम गर्ने, वैदेशिक रोजगारीका लागि जान नसकेकाहरू मात्रै अहिले क्याम्पसमा भर्ना भएको उनले बताए । ‘अहिले सामुदायिक क्याम्पसमा भर्ना भएका जति पनि विद्यार्थी छन्, तिनीहरू पनि विदेश जाने मौका मिले जान्छन्,’ उनले भने, ‘क्याम्पसमा भन्दा बढी विद्यार्थी भाषा सिक्ने इन्स्टिच्यूटमा छन् । राज्यले नै यो अवस्था रोक्न सक्यो भने क्याम्पस चल्छन् । नत्र अब गाह्रो भइसक्यो ।’

कान्तिपुरबाट