भजनी र जोशीपुर गाउँपालिकाका विद्यालयमा जाडो बिदा

भजनी र जोशीपुर गाउँपालिकाका विद्यालयमा जाडो बिदा

धनगढी । कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका विद्यालयमा जाडो बिदा दिइएको छ । चिसोका कारण पठनपाठनमा समस्या हुनुका साथै विद्यार्थीको स्वास्थ्य समस्या देखा पर्न थालेपछि पालिकाहरुले कार्यपालिकाको बैठकबाट निर्णय गरेर विद्यालयमा बिदा दिएका हुन् । 

भजनी नगरपालिकाको कार्यपालिका बैठकले माघ ५ देखि ८ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो बिदा दिएको हो । यस्तै, जोशीपुर गाउँपालिकाले माघ ७ देखि ९ गतेसम्म तीन दिन विद्यालयमा जाडो बिदा दिएको छ । 

सो पालिकाको आज बसेको कार्यपालिका बैठकले जाडोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर परिरहेकाले जाडो बिदा दिने निर्णय गरेको छ । यसअघि, घोडाघोडी नगरपालिकाले हिजोआज जाडो बिदा दिएको थियो । 

कैलालीसहित पश्चिम तराईमा शीतलहर–हुस्सुका कारण जनजीवन प्रभावित बनेको छ । केही दिनदेखि घाम नलाग्दा यहाँको न्यूनतम तापक्रम कम हुँदैगएको छ । जसका कारण अत्यधिक जाडो भइ जनजीवन प्रभावित भएको हो । चिसोका कारण बालबालिका, वृद्धवृद्धा, दैनिक ज्यालादारीमा काम गरेर गुजारा गर्ने मजदुरलगायत विपन्न समुदायका व्यक्ति बढी प्रभावित भएका छन् । 

चिसोले गर्दा विद्यार्थीलाई विद्यालय जान समस्या हुनुका साथै मान्छेको नियमित कामकाजमा बाधा भइरहेको छ । विद्यार्थी पर्याप्त बाक्लो कपडा नलगाई विद्यालय पोशाक लगाएर मात्र विद्यालय जाँदा उनीहरुको स्वास्थ्यमा समस्या भइरहेको छ । 

केही दिन यता बढेको अत्यधिक चिसोका कारण साना बालबालिका, ज्येष्ठ नागरिक, विद्यार्थीलगायतलाई समस्या भइरहेको धनगढी उपमहानगरपालिका –८ का ललिता सोबले बताए। 

जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कैलालीको न्यूनतम तापक्रम निरन्तर घटिरहेको छ । हिजो धनगढीको न्यूनतम तापक्रम ९.८ डिग्री सेल्सियस मापन भएकोमा आज ९.६ डिग्री सेल्सियसमा झरेको छ । पारदर्शिता भने एक हजार ३०० मिटर रहेको महाशाखाद्वारा आज बिहान प्रकाशित बुलेटिनमा उल्लेख छ ।