स्रोत नखुलेको भन्दै गायिका आनीको खातामा हङकङबाट आएको १८ करोडभन्दा बढी रकम रोक्का

स्रोत नखुलेको भन्दै गायिका आनीको खातामा हङकङबाट आएको १८ करोडभन्दा बढी रकम रोक्का

काठमाडौं- तुइन विस्थापनका लागि भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक करोड रकम दिने गायिका आनी छोइङ डोल्माको १८ करोड रुपैयाँ भन्दा बढी सम्पत्तिको स्रोत खोजी सुरु भएको छ।

नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको 'जनतासँग प्रधानमन्त्री कार्यक्रम'को तुइन विस्थापन सम्बन्धी शृंखलामा प्रधानमन्त्री ओलीलाई आनीले १ करोडको चेक हस्तान्तरण गरेकी थिइन्। सो रकम उनले तुइन विस्थापनका लागि भन्दै प्रदान गरेकी हुन्।

गायिका भए पनि भिक्षु जीवन बिताइरहेकी आनीले चेक हस्तान्तरण गरेसँगै सो रकमको स्रोतबारे शंका उत्पन भएको थियो। अहिले भने आनीले प्रधानमन्त्री ओलीलाई चेक हस्तान्तरण गर्नुको रहस्य बिस्तारै खुल्न थालेको छ। विभिन्न सयममा विभिन्द देशबाट आएको स्रोत नखुलको रकम निकाल्नकै लागि आनीले प्रधानमन्त्रीलाई एक करोड रुपैयाँ दिएको आशंका गरिएको छ।

स्रोत नखुलेको रकम पटक-पटक नेपाल भित्र्याइएपछि आनीको खाता रोक्का गरी सम्पत्ति शुद्धीकरणको आशंकामा अनुसन्धान सुरु गरिएको सम्पति शुद्धीकरण विभागका एक उच्च स्रोतले जनाएको छ। तर, रकम रोक्का गरी अन्नुसन्धान सुरु भएपनि फुकुवा गर्न प्रधानमन्त्रीकै सचिवालयबाट दबाब आउन थालेको स्रोतको भनाइ छ।

साथै आनीको खातामा आएको रकमको विषयमा नेपाल राष्ट्र बैंकले पनि अनुसन्धान थालेको छ।

आनीले स्रोत नखुलाई हङकङबाट १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर (हालको विनिमय दरअनुसार १८ करोड ३१ लाख ४३ हजार ३ सय ४० रुपैयाँ) नेपाल भित्र्याएपछि विभाग र राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले अनुसन्धान थालेको विभाग स्रोतको दाबी छ।

आनीले विदशेबाट रकम भित्र्याउँदा अनुमति लिनुपर्ने भएपनि कुनै आधिकारिक निकायबाट अनुमति नलिइकन मेगा बैंकको खातामा १८ करोड रुपैयाँ भन्दा बढी रकम भित्र्याएको स्रोतको दाबी छ। स्रोतका अनुसार आनीको खातामा हङकङका नागरिक लियाङ, चुङ, हाङ र जियोरीले पटक–पटक रकम जम्मा गरेको देखिएको छ।

अहिले अनुसन्धान गरिरहेकम दुई वटा निकायले आनीको बैंक खातामा विदेशबाट अनधिकृत रुपमा ३ पटक आएको रकम मात्रै रोक्का गरेको जनाएको छ।

आनीले आफ्नो खातामा आएको रकमको स्रोत खुलाउन नसकेपछि मेगा बैंकले राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरणबारे अनुसन्धान गर्ने निकाय वित्तीय जानकारी इकाईलाई खाता विवरण पठाएको बैंक स्रोतको भनाइ छ।

बौद्ध भिक्षुणी आनीले सन २००० देखि आनीहरूका लागि काठमाडौंको फर्पिङमा आर्यतारा विद्यालय सञ्चालन गर्दै आएकी छन्। उनले आफ्नो कमाइ र प्राप्त सहयोगबाट विद्यालय सञ्चालन गर्ने गरेको बताउँदै आएकी छिन्। तिब्बती शरणार्थी परिवारकी सदस्य आनी १३ वर्षको उमेरदेखि काठमाडौंको शिवपुरीस्थित नागी गुम्बामा बस्दै आएकी थिइन्।