राजीनामाको धम्की दिँदै कु–प्रचार गर्दै नगर प्रमुख हमाल, कस्ले माग्यो राजीनामा ?

राजीनामाको धम्की दिँदै कु–प्रचार गर्दै नगर प्रमुख हमाल,  कस्ले माग्यो राजीनामा ?

धनगढी । धनगढी नगर प्रमुख गोपाल हमालले सत्तागठबन्धन दलले राजीनामा दिलाउन बाँध्य पारेको भन्दै चर्चा गरिरहेका छन् । जग्गा प्लटिङ्गसम्बन्धि बनेको कार्यविधि विवादपछि नगर प्रमुख हमालले जनप्रतिनिधिहरुसंग संवाद नगरि अहिले राजीनामा दिन बाँध्य पारेको प्रतिक्रिया दिएका हुन् ।

धनगढीखबरमा ‘धनगढीः न कार्यपालिका बैठक, न नगर सभा’ भन्ने शिर्षकमा समाचार प्रकाशित भएलगत्तै नगर प्रमुख हमालले ‘आफुलाई राजीनामा दिन बाँध्य पारेको भन्दै’ विभिन्न सञ्चारमाध्यमबाट अहिले समाचार प्रकाशन गराएका हुन् ।

नगर प्रमुख हमालले १९ औं कार्यपालिका बैठकमा पारित नभएको जग्गा प्लटिङ्ग सम्बन्धी कार्यविधि मंसिर २५ गते एकल रुपमा राजपत्रमा प्रकाशन गरे । सोही दिनदेखि कार्यपालिका सदस्यहरुले कार्यविधि नगरबासीको हितमा नरहेको भन्दै छलफल गराउन नगर प्रमुख हमालसंग संवाद गर्न प्रयास गरे । तर, उनले सो विषयमा कुनै संवादनै गर्न चाहेनन् । जनप्रतिनिधिसंगको एक्ला–एक्लै भेटमा नगर प्रमुख भन्थे –‘जग्गा सम्बन्धी बनेको कार्यविधि नमाने नगर सभा र कार्यपालिका बैठक बसाउँदैन ।’ 

उनको अभिव्यक्ति अनुसारनै पुस महिनामा बस्नु पर्ने अनिवार्य बैठक पनि नगर प्रमुख हमालले बोलाएनन् । जसको असर अहिले धनगढीको बस्नु पर्ने नगर सभा पनि अनिश्चित छ ।

नगर प्रमुखले कार्यपालिका बैठक र नगर सभा नबसाएपछि जानकारी नभएका कार्यक्रममा वडा अध्यक्षहरु सहभागि भएनन् । काँग्रेस दलको नेतासमेत रहेका वडा नम्बर ४ का अध्यक्ष बुद्धीबहादुर खड्काले भने –‘पहिला कार्यक्रमहरुबारे खबर आउँथ्यो । फुर्सद भएका साथीहरु उपस्थित हुन्थ्यौँ । अहिले कार्यक्रम बारे फेसबुकमा स्टाटस देखिन्छ । अनी त्यही स्टाटस देखेर हो त हामीले कार्यक्रममा सहभागी हुने ? तपाई आफै भन्नुस त, जग्गा कित्ताकाट सम्बन्धीको बैठकपछि हामीलाई कुनै कार्यक्रमहरुमा बोलाइएको छैन, उल्टै हाम्रा फोन नगर प्रमुखले उठाउनुभएको छैन ।

उनले नगर प्रमुखको फोन अफ हुने गरेको बताउँदै ‘उहाँले हामीसंग छलफलनै गर्न खोज्नुभएको छैन । हामीसंग छलफल गरेर समाधान निकाल्नुको सट्टा फेसबुक र युट्युबमा भनिराख्नुभाछ यसरी समाधान हुन्छ त ?’

उनले जग्गा कित्ताकाट सम्बन्धीको बिधेयकमा बिवाद भएपछि नगर प्रमुखले बैठक नबोलाएको बताए । ‘न हामी संग अनौपचारिक छलफलनै गर्नु भाछ । अनी कहाँबाट हामीले राजिनामा दिनुस भनेका छौँ’ उनले भने ‘न कुनै बैठक बसेको छ, न छलफल अनी कुन बेला हामीले राजिनामा दिनुस भन्यौँ, हामीसंग छलफल छैन, फेसबुक र युट्युबमा राजिनामा माग्यो भनिराख्नुभाछ । हामी किन माग्छौँ राजिनामा ? पुस मसान्तभित्र नगर परिषद बैठक बसिसक्नुपर्ने माघ पहिलो साता सकिदासम्म त्यो बैठक बोलाउनु भाछैन उहाँले । अनी उल्टो हामीलाई राजिनामा दिन लगायो भनेर कुप्रचारमा लाग्नुभाछ ।’

उनले छलफलका लागी अनी कार्यपालिका बैठकमा बोलाउँदा पनि गएनौँ भने भन्नु त्यो भन्नु उचित हुने बताउँदै –‘कुनै कार्यक्रम बारे जानकारी गराएर पनि गएनौँ भने गुनासो गर्नु ठिक हो । न हामीलाई बैठकका लागी बोलाइएको छ, न कार्यक्रमका लागी अनी बिना कारण राजिनामा गर्न लगायो भनेर बोलिराख्नुभाछ, यो सरासर गलत हो, वास्तविक कुरा सबैले बुझ्न जरुरी छ ।’

माओवादीबाट निर्वाचित वडा नम्बर ६ का अध्यक्ष भागीराम चौधरीले समेत कुनै पनि कार्यक्रम बहिष्कार नगरेको दाबी गरे । उनले कार्यक्रमबारे उपमहानगरपालिकाले खबर नै नगर्ने गरेकाले सहभागी नभएको बताए । ‘हामीले बहिष्कार गरेका छैनौँ । कुनै बैठक र कार्यक्रम हुने भनेर पत्र आएको छैन । पत्र नआएपछि जाने कुरा पनि भएन,’ चौधरीले भने, ‘बरु हामीले बैठक बोलाउनुपर्छ भनेका छौं ।’

नगर प्रमुख हमालले भने आफूलाई असफल बनाउन कांग्रेस र माओवादीका जनप्रतिनिधिले मोर्चाबन्दी गरेको दाबी गरेका छन् । हमालले गठबन्धनमा आवद्ध राजनीतिक दलका जनप्रतिनिधिहरुले आफूलाई राजीनामा दिन बाध्य पार्न खोजिरहेको समेत बताए ।

‘उहाँहरुसँग बहुमत छ । सुरुवातमा के गर्न सक्ला र, एक्लो छ भन्ने थियो । पछिल्ला दिनहरुमा राम्रो काम भयो । उहाँहरुलाई हामीले गरेका राम्रो कामले समस्या भएको छ,’ हमालले भने, ‘सोही कारणले मलाई राजीनामा दिन बाध्य बनाउँदै हुनुहुन्छ । प्रमुख प्रशासकीय अधिकृतसाबको बिदाइ कार्यक्रम मात्र होइन, आसरा सुधार केन्द्रको उदघाटनदेखि उहाँहरुले म सहभागी भएका कार्यक्रम बहिष्कार गर्नु भएको छ ।’ हमालले गठबन्धनमा आवद्ध जनप्रतिनिधिहरुका कारण काम गर्ने वातावरण नभएको बताए ।