प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

बाजुरा : बाजुराको जगन्नाथ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सोमबारबाट औपचारिक रूपमा सुरुवात गरिएको छ । जगन्नाथ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक सुरुवात गरिएको रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन् ।

गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले गाउँपालिका घेरबारको शिलान्यास गरेर कार्यक्रमको शुभारम्भ गरेको संयोजक जोशीले बताए । गाउँपालिकाको आयोजनामा एक औपचारिक कार्यक्रमको आयोजना गरी कार्यक्रम शुभारम्भ गरिएको गाउँपालिकाले बताएको छ । जगनाथ गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा कार्यक्रमको उद्घाटन गरिएको गाउँपालिकाले बताएको छ । कार्यक्रमबारे जानकारी प्रमुख प्रशासकीय अधिकृत विनोदप्रसाद गैरेले जानकारी गराएको बताएको छ ।

कार्यक्रममा जगनाथ गाउँपालिकाका सबै वडामा वडाका वडा अध्यक्ष, वडा सचिव, कार्यपालिका सदस्यलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन तथा व्यवस्थापनको विषयमा छलफल गरिएको जगन्नाथ नगरपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले जानकारी दिएका छन् ।

त्यस्तै, कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार आयोजनाको ढाँचा, आयोजना छनोट गर्दा प्राथमिकतामा राख्नुपर्ने कुरा, आयोजनाका प्रकार, स्थानीय स्तरमा आयोजनाको कार्यान्वयन, समन्वय, अनुगमन, निर्देशन र संयोजन, बजेट व्यवस्थापनका तथा रोजगार व्यवस्थापन सूचना प्रणालीजस्ता विषयमा छलफल गरी कार्यक्रमको शुभारम्भ गरिएको जोशीले बताए ।

आयोजनाका प्रकारअन्तर्गत सडक निर्माण तथा मर्मत, कृषि तथा सिँचाइ, ग्रामीण खानेपानी, शिक्षा, वन तथा जलाधार, पर्यटन तथा स्थानीय आवश्यकताअनुसारका अन्य श्रमप्रधान आयोजना रोजगार कार्यक्रममा रहेका छन् । वडास्तरबाटै छनोट गरी वडास्तरमै कार्यक्रम सञ्चालन गरिने बताइएको छ । सरकारी मापदण्डका आधारमा रोजगार कार्यक्रमका लागि ६ वटा वडाबाट १३५ जना छनोट गरिएको गाउँपालिकाले जनाएको छ ।

जसमा वडा नम्बर १ बाट २३ जना, २ बाट २२ जना, ३ बाट २२ जना, ४ बाट २३ जना, ५ बाट २२ जना, ६ बाट २३ जना जम्मा १३५ जना रहेको संयोजक जोशीले बताएका छन् । कामदार र योजना छनोट गरी कामको सुरुवात गरिएको छ । कामदारले प्रतिदिन ५१७ रुपैयाँका दरले पाउनेछन् । यस वर्ष छनोट भएका कामदारले ३० दिन काम गर्नुपर्ने, बैंक खाता अनिवार्य र उनीहरूले काम गरेको पारिश्रमिक बैंक खातामा जम्मा गरिने बताएको छ ।

यो वर्षका लागि गाउँपालिकामा वडा नम्बर १ मा सरस्वती माविको घेरवार, वडा नम्बर २ मा सामुदायिक स्वास्थ्य एकाइको फिल्ड निर्माण र घेरवार, वडा नम्बर ३ को महादेव माणुको घेरबार र गेट निर्माण वडा नम्बर ४ मा थारीकाँडा खानेपानी निर्माण र पाइपलाइन मर्मत र धारा निर्माण, वडा नम्बर ५ र ६ को देवलकोट माविको फिल्ड र घेरबार निर्माण त्यसैगरी गाउँपालिकाको घेरबार रहेको गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताए ।