संगीतकै लागी जन्मेका राजकुमार ‘बगर’

संगीतकै लागी जन्मेका राजकुमार ‘बगर’

धनगढी । नेपाली लोकदोहोरी र आधुनिक क्षेत्रमा विगत २० वर्ष देखि अनवरत साधना रहेको नाम हो, राजकुमार बगर । गीतकार बन्न तनहुँको थर्पुबाट वि.स २०५८ सालमा आएका उनी गीतकार सँगसँगै संगीतकार पनि बने । कलेक्सनमा उनको हजार भन्दा धेरै गीतहरू रेकर्डिङ भइसकेका छन् । हिजो पनि आज, पनि संगीतमै रमाएका उनी भोलि पनि गीत संगीतमा नै आफ्नो जीवन निर्वाह गर्ने बताउँछन् ।

बाबा अमर बहादुर राना र आमा तुलसी रानाबाट वि.सं.२०३२ साल फाल्गुन २९ गते जन्मेका मान्छेको जन्मजात रूचि हुने रहेछ भन्ने लाग्छ उनलाई । गाउँ घरमा मेला, पूजाले नै आफूलाई यसतर्फ आकर्षित गरेको उनी बताउँछन् । विशेष गरेर आफूलाई यस क्षेत्रमा आकर्षित गर्ने श्रेय भने उनी रेडियो नेपाललाई दिने गर्छन् ।

स्नातक (वि.एड.)सम्मको औपचारिक शिक्षा लिएका उनले थुप्रै पुरस्कार समेत प्राप्त गरेका छन् । विद्यार्थी जीवनका गीतका क्यासेट किनेर सुन्ने हैसियत सायदै कसैको हुन्छ । उनको हैसियत क्यासेट किन्ने थिएन । सुने पनि रेडियो नेपाल । नसुने पनि रेडियो नेपाल ।

आधुनिक संगित संम्मेलन २०५५ मा रेडियो नेपालबाट उत्कृष्ट शब्द सिर्जना तर्फ प्रथम भएका उनी लोकगित सम्मेलन २०६० (रेडियो नेपाल– लय÷शब्द संकलनमा) द्धितिय भए ।

साथै द रेयुकाई नेपाल, पोखराको खुल्ला लोकगीत प्रतियोगिताग– २०५५ मा प्रथम भएका उनले थुप्रै सम्मान तथा पुरस्कार प्राप्त गरे । ती पुरस्कारहरुमा जेसिस सम्मान २०५८ तनहुँ, समता काव्य सम्मान (२०६६) पो.यु.सा.प., कालिका म्यूजिक अवार्ड– २०६६ (उत्कृष्ट शव्द), कालिका म्यूजिक अवार्ड– २०६९ (उत्कृष्ट संगीतकार), कालिका म्यूजिक अवार्ड– २०७० (उत्कृष्ट संगीतकार), कालिका म्यूजिक अवार्ड– २०७१ (उत्कृष्ट संगीतकार), कालिका म्यूजिक अवार्ड– २०७२ (उत्कृष्ट संगीतकार), कालिका म्यूजिक अवार्ड– २०७३ (उत्कृष्ट संगीतकार), कालिका म्यूजिक अवार्ड– २०७४ (उत्कृष्ट संगीतकार), विन्ध्यावासिनी म्यूजिक अवार्ड– २०६९ (उत्कृष्ट लोकदोहोरी रचना), विन्ध्यावासिनी म्यूजिक अवार्ड – २०७० (उत्कृष्ट संगीतकार), विन्ध्यावासिनी म्यूजिक अवार्ड – २०७१ (उत्कृष्ट संगीतकार), विन्ध्यावासिनी म्यूजिक अवार्ड– २०७२ (उत्कृष्ट संगीतकार), म्यूजिक खबर म्यूजिक अवार्ड– २०६८ (उत्कृष्ट ध्वनी मुद्रण), गीतकार (रेडियो नेपाल)– विशिष्ट श्रेणी, संगीतकार) (रेडियो नेपाल)– प्रथम श्रेणी रहेका छन् । 

साथै प्रबासी साहित्यकार पुरस्कार २०७२, बेलायत ब्रनाइ दशकको श्रस्टा सम्मान २०७४ रा.लो.दो.प्र समेत उनले प्राप्त गरे । उनले एपिक म्युजिक अवार्ड .२०७५ र नेश्नल बोस्टर म्युजिक अवार्ड २०७५ मा उत्कृष्ट संगीतकार तर्फको पुरस्कार प्राप्त गरे । उनको गीत संगीतबाट प्रेरणा लिएर गीत संगीतमा लाग्नेहरु पनि धेरै छन् । दर्जनौ सम्मान अनि पुरस्कार प्राप्त गरेका राजकुमार “बगर”को गीत संगीत प्रतिको योगदान साच्चिकै अतुलनीय रहेको छ । 

उनको बुझाइ अनुसार जिन्दगीमा नियतीले जता डो¥याउँछ । मान्छे त्यही नियतीको फेरो समातेर अगाडि बढ्ने रहेछ । ‘तिमीलाई आफ्नो भन्ने मेरो अधिकार गुमेपनि’ भन्ने गीत आफ्नै गीत पहिलोचोटि कम्पोज गरे उनले । जहाँ कुमार केसीले लगानी गरेर आफुलाई ठूलो भुमिका खेलेको कुरा उनी बताउँछन् । जब उनको यो गीत बजारमा आएर चर्चा हुन थाल्यो त्यसपछि भने उनमा आफूले कम्पोज गरेका गीतपनि सुन्न र दर्शक श्रोताको मन जित्न सक्दो रहेछ भन्ने लाग्यो उनलाई ।

शान्त र शालिन उनको छवि हो । उनी आफूले गरेको काम प्रति हल्ला गर्न मन पराउदैनन् । तर उनका गीत शहरका हरेक चोकमा बज्छन् । कहिलेकाहीँ बाटोमा हिड्दै गर्दा आफ्ना गीत बज्दा अडिएर सुन्छन् । आफूले गरेको मेहनतलाई मान्छेले ग्रहण गरेको दृश्य देख्दा असिम आनन्द आउँछ उनलाई ।

सेती आफ्नै सुरमा बगिरहेको थियो । बगरको कानमा जलौटाको गीत गुन्जिरहेको थियो । साच्चै जिन्दगी खोलाजस्तै बगिरहेछ भन्ने कथनसँग सहमत हुने हरेक मान्छे बगर रहेको उनले मनमनै गमे । नदीमा पानी कहिले वारी कहिले पारी बगिरहँदा बगर सधैँ साँची बसिरह्यो । तर कहिल्यै गुनासो गरेन् । उसो त नियतीले मान्छेलाई कहाँ कहाँ पुर्याउँछ । तर जिन्दगीले कहिल्यै गुनासो गर्दैन । यही भावानुसार उनले आफ्नो नामको पछाडिको थर हटाए र ‘बगर’ राखे ।