फागुन ३ गतेदेखि तेस्रो सीजनको ‘कमेडी च्याम्पियन’

फागुन ३ गतेदेखि तेस्रो सीजनको ‘कमेडी च्याम्पियन’

काठमाडौं: थ्रि प्रोडक्सनले निर्माण गरेको रियालिटी शो ‘कमेडी कमेडी च्याम्पियन सीजन–३’ को प्रसारण आगामी फागुन ३ गतेदेखि प्रारम्भ हुने भएको छ ।

बुधवार काठमाडौं आयोजित पत्रकार सम्मेलनमा यो कार्यक्रम कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने जानकारी गराइएको छ ।

शोका निर्देशक विशाल भण्डारीले एडी रिलिजसँगको सहकार्यमा नेपालको मौलिक रियालिटी शोको तेस्रो सीजन ल्याउन लागेको बताए । कोरोनाका कारण बजार फस्टाउन नसकेको भन्दै पहिलो र दोस्रो सीजन प्रसारण भएको लामो समयपछि तेस्रो सीजन ल्याउन लागेको भण्डारीको भनाइ छ ।

तेस्रो सीजनको डिजिटल अडिसन दिएका हजारौं प्रतिस्पर्धिमध्ये १ सय ३२ जना छानिएको र त्यसबाट ७६ जना प्रि–अडिसन राउण्डमा सहभागी भएका थिए । तीमध्ये अडिसन राउण्डका लागि ५५ जना छानिएको हुन् । अडिसन राउण्डबाट सुपर ३० छानिने छन्, भने त्यसपछि १६ जना सुपर १६ मा पुग्ने छन् ।

यसअघिका दुई सीजनमा भने सुपर २४ र सुपर १५ छानिने गरेका थिए । यसपटक प्रतिभावान प्रतिस्पर्धिहरुको सहभागिता धेरै भएकाले नियममा अलिकति परिवर्तन गरिएको निर्देशक भण्डारीले बताए ।

यो शोको निर्णायकमा पहिलो र दोस्रो सीजनका निर्णायकहरु सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा तथा प्रदीप भट्टराई नै दोहोरिएका छन् ।

यो शोको होस्ट अभिनेत्री रीमा विश्वकर्मा र मेक्सम गौडेलले गर्नेछन् । कमेडी च्याम्पियनका निर्माता निर्देशक भण्डारी, होस्ट रीमा, अभिनेत्री केकी अधिकार, सगुन पाण्डे लगायत छन् । यो रियालिटी शोको भोटिङ पाटर्नर खल्ती एप रहेको छ ।

पत्रकार सम्मेलनमा कान्तिपुर टिभीका प्रोडक्सन हेड सुरज सिंह ठकुरीले टेलिभिजनमा सेन्सरसिपको विषयमा बोलेका थिए । कसैलाई आक्षेप लाग्ने खालका कमेडीलाई सेन्सर गरिने उनले बताएका थिए । यो शो हरेक साता बिहीवार तथा शुक्रवार राति ९ देखि साढे १० बजेसम्म प्रसारण हुनेछ ।

यो शो ग्राण्ड फिनालेसहित ३३ एपिसोड प्रसारण गरिने छ ।

यो कार्यक्रमको पहिलो तथा दोस्रो सीजनमा क्रमशः हिमेश पन्त तथा भरतमणि पौडेल विजयी भएका थिए ।