सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा गङ्गादशहरा मेला शुरु

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा गङ्गादशहरा मेला शुरु

धनगढी : सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा प्रत्येक वर्ष जेठमा लाग्ने गङ्गादशहरा मेला शुरु भएको छ । उक्त मेला भर्नका लागि खप्तड क्षेत्रमा स्वदेशी तथा विदेशी हजारौँ तीर्थालु तथा पर्यटकहरु पुगेको खप्तड मेलामा पुग्नुभएका उद्योग वाणिज्य सङ्घ डोटीका महासचिव दीपकबहादुर खड्काले बताए ।

खप्तडमा मेला भर्न पर्यटक तथा तीर्थालुहरु हजारौँको सङ्ख्यामा पुगेको उहाँले जानकारी दिनु भएको छ ।  सुदूरपश्चिमको ‘भू–स्वर्ग’ को उपमाले चिनिँदै आएको खप्तडमा विशेषगरी आज रातभरि मेला लाग्ने देउडा खेल्ने तथा बुधबार बिहान पूजाआजा गर्ने चलन छ ।

गङ्गादशहरा मेलाकै अवसर पारी डोटी उद्योग वाणिज्य सङ्घले बर्सेनी आयोजना गर्दै आएको खुला पुरुष भलिबल, घोडा दौड र सुदूरपश्चिमकै संस्कृतिका रुपमा चिनिएको देउडा प्रतियोगिता यस पटक पनि आयोजना गरेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बताउनुभयो ।

‘गङ्गादशहरा मेलामा जाऔँ, खप्तडका सुन्दर फाँटहरु घुमौँ, त्रिवेणीमा स्नान गरौँ’ भन्ने नाराका साथ यस वर्ष भव्यरुपमा मेला लागिरहेको दीपायलका स्थानीय तथा डोटी उद्योग वाणिज्य सङ्घका पूर्वसदस्य गणेशबहादुर साउदले बताउनुभयो ।

गङ्गादशहरा मेलाका दिन त्रिवेणीधाममा नुहाउँदा पाप नाश हुने, पितृलाई तर्पण दिँदा पितृले मुक्ति पाउने र स्वर्ग जाने, मनको इच्छा पूरा हुने जनविश्वास रहेकाले यो मेलाको आकर्षण बढेको स्थानीय समाजसेवी गणेशदत्त भट्टले बताउनु भएको छ ।

खप्तड क्षेत्रमा जेठ महीनामा गङ्गादशहरा मेला तथा भदौ महीनामा जनैपूर्णिमाका दिन पनि भव्य जात्रा लाग्ने गर्दछ । जात्रा हेर्नका लागि सुदूरपश्चिमका विभिन्न जिल्ला र नेपालका अन्य क्षेत्रबाट समेत पर्यटकहरुको घुइँचो लाग्ने गरेको पूर्वीचौकी गाउँपालिकास्थित बग्लेकका स्थानीयवासी धनबहादुर विष्टले बताउनुभयो ।