गोदावरी नगरपालिकाको ओलानीमा पानीको हाहाकार

गोदावरी नगरपालिकाको ओलानीमा पानीको हाहाकार

धनगढी : कैलालीको गोदावरी नगरपालिकाको ओलानी बस्ती काकाकुल भएको छ।वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका गोदावरी नगरपालिका १० का केही बस्ती तथा ११ र १२ का बासिन्दा हावाहुरीपछि पूर्णरुपमा प्रभावित भएका हुन्।

उक्त क्षेत्र सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीको निर्वाचन क्षेत्र पनि हो। वषौँदेखि ट्युबेलको पानी उपभोग गर्दै आएका ती वडाबासी खानेपानीबाट बञ्चित भएका छन्। गर्मीको समयमा ट्युवेलको पानी सुक्दै जाने भएपछि पानीको हाहाकार हुने भएको हो।

यसपटक भने विद्युत सेवा अवरुद्ध भएपछि चौतर्फी समस्यामा परेको स्थानीय धर्मदेव ओझाले बताए।ओलानी क्षेत्रमा डीप ट्युबेल गाड्ने बेला लापरवाही भएका कारण खानेपानीको चरम समस्या हुँदै आएको स्थानीयको गुनासो छ। वडा नम्बर ११ का स्थानीय किसन कुनजेडाले दुई सय मिटर गहिराईमा गाड्नुपर्ने ट्युबेल डेढ सय मिटरमै छोडिदिने गर्दा हरेक वर्ष वैशाख र जेठ महिनामा पानीको हाहाकार हुने गरेको गुनासो गरे।

साझा विवेकशिल पार्टीले गोदावरी नगरपालिकाको ओलानीमै स्थानीयलाई पानी वितरण गरेको छ। जेठ २३ गते आएको हावाहुरीका कारण विद्युत नहुँदा पानी समेत स्थानीयले खान पाएका छैनन्।विद्युतबाट स्थानीय बोरिङको पानी तानेर खाने गरेका थिए।

साझा विवेकशिल पार्टीले ओलानीमै पुगेर अत्तरियाबाट गाडीमा जारको पानी ढुँवानी गर्दै वितरण गरिरहेको जनाएको छ। साझा विवेकशिल पार्टीको सुदूरपश्चिम अभियान विभाग प्रमुख विनोद मल्लले पानीको हाहाकार भएपछि गाउँमै पुगेर वितरण गरिरहेको जानकारी दिए।