अनलाइन लगानी गर्दा दोब्बर आम्दानी हुने प्रलोभनमा यसरी ह्याक हुँदैछन् फेसबुक अकाउन्ट

अनलाइन लगानी गर्दा दोब्बर आम्दानी हुने प्रलोभनमा यसरी ह्याक हुँदैछन् फेसबुक अकाउन्ट

काठमाडौं । काठमाडौंका ३२ वर्षीय सरोज शर्मा (परिवर्तित नाम) पेसाले एक शिक्षक हुन् । अतिरिक्त आम्दानीका लागि विभिन्न तरिका खोजिरहेका उनले एक दिन फेसबुकमा यस्तो लिङ्क फेला पारे, जहाँ अनलाइनमा लगानी गर्दा दोब्बर बढी रकम पाइने भनिएको थियो ।

यसका लागि त्यहाँ दिइएको वेबसाइटमा उनले आफ्नो फेसबुक आईडी प्रयोग गरी अकाउन्ट बनाउनुपर्ने थियो । थोरै लगानी गरे पनि राम्रै आम्दानी हुने ‘उपाय’ थाहा पाएपछि उनी हौसिए ।

अकाउन्ट बनाएपछि एउटा बैंक अकाउन्ट र वालेट आईडीमा रकम जम्मा गरेर स्लिप पठाउन भनियो । शर्माले पनि वेबसाइटमा भने अनुसार १० हजार रुपैयाँ जम्मा गरेर त्यसको स्क्रिनशट अपलोड गरे । स्क्रिनशट अपलोड गरेको केही समयपछि उक्त वेबसाइटमा भएको उनको अकाउन्टमा १० हजार जम्मा भएको देखियो ।

त्यसको दुई घण्टापछि रकम बढेर ३० हजार भइसकेको थियो । तर, त्यो ३० रकम तत्कालै निकाल्न मिल्दैनथ्यो । त्यसका लागि उनको अकाउन्टमा न्यूनतम डेढ लाख लगानी भएको हुनुपर्थ्यो ।

त्यसमा उनले जतिबेला पनि त्यति नै रकम जम्मा गर्न मिल्दैनथ्यो । उनले रकम बढाउँदै लगानी गर्नुपर्ने भनिएको थियो । लगानी गर्ने वेबसाइटमा रकम बढेको देखेपछि शर्मालाई पनि पैसा आउने रहेछ भन्ने विश्वास भयो ।

दोस्रो चरणमा उनले ३० हजार रुपैयाँ जम्मा गरे । त्यसपछि उनको अकाउन्टमा रकम एक लाख रुपैयाँ भइसकेको थियो । अर्थात् उनले ४० हजार लगानी गर्दा उनको अकाउन्टमा एक लाख जम्मा भएको देखिएको थियो ।

यसरी उनले ५० र ७० हजार रुपैयाँ जम्मा गरिसक्दा अकाउन्टमा तीन लाख ५० हजार जम्मा भएको देखियो । शर्माले उक्त वेबसाइटमा एक लाख ६० हजार लगानी गरिसकेका थिए ।

अब पैसा निकाल्नुपर्‍यो भनेर त्यहाँ भनिएको प्रक्रिया अपनाएर पैसा निकाल्न के खोजेका थिए, उनको अकाउन्टमा पैसा नै देखिएन । उनले हतारहतार उक्त वेबसाइटको कस्टमर केयरमा सम्पर्क गर्न खोजे । तर, उताबाट उनको फेसबुक अकाउन्ट नै ह्याक भएको जानकारी आयो ।

त्यसपछि उनले फेसबुक खोल्न खोजे । तर, खुलेन । उनले ‘फर्गट पासवर्ड’ विकल्पमार्फत अकाउन्ट रिकभर गर्न खोजेपनि मोबाइल र ईमेलमा कोड आएन । यति गर्दा पनि अकाउन्ट लगइन गर्न नसकेपछि उनी आफ्नो अकाउन्ट ह्याक भएको भन्नेमा निश्चिन्त भए ।

त्यसपछि शर्माले त्यही वेबसाइटमा कस्टमर केयरमा सम्पर्क गरेर अकाउन्ट र आफूले जम्मा गरेको पैसा फिर्ता दिन अनुरोध गरे । कस्टमर केयरबाट पहिले जम्मा भएको अकाउन्टको रकम र पीडितको अकाउन्ट फिर्ता गरिदिन एउटा भिडिओ बनाउन भनियो ।

भिडिओमा पीडितले यो वेबसाइटमा क्लिक गरेर मैले राम्रै पैसा कमाएँ भन्नुपर्ने थियो । उनले त्यसै भने । तर भिडिओ पाइसकेपछि पनि कस्टमर केयर अर्थात् स्क्यामरले पैसा फिर्ता दिएनन्, न त फेसबुक अकाउन्ट नै रिकभर भयो ।

यता​ स्क्यामरले पनि त्यही भिडिओ उनका अन्य आफन्तलाई पठाएर त्यसमा लगानीका लागि प्रेरित गरे । चिनेको मान्छेको भिडिओ देखेपछि आफन्त, साथीभाइले विश्वास गरे । त्यही लिङ्कमा क्लिक गरेर अरु व्यक्ति पनि त्यसरी नै ठगीमा पर्न थाले । 

यसपछि भने पीडित शर्मा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको शरणमा पुगे । यस घटनाको अनुसन्धान गर्दा प्रहरीले केही व्यक्तिबाट रकम ठगी गरेको पायो भने केहीको फेसबुक अकाउन्ट ह्याक भएको पायो ।

पीडितको उजुरीपछि यसबारे अनुसन्धान भइरहेको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक एवं साइबर पिल्लर प्रमुख लिलाराज डाँगीले बताए । “यो एकदम बिरलै आएको उजुरी हो,” उनले टेकपानासँग भने, “पछिल्लो समय यस्तै स्क्यामको उजुरी परेको त छैन, तर ठगीका अन्य प्रकृतिसँग मिल्दोजुल्दो छ ।”

स्क्यामरले नयाँ(नयाँ तरिका अपनाएर ठगी गर्ने हुँदा यस्ता जोखिमबाट सजग रहन उनले सुझाव दिए । “स्क्यामरले सर्वसाधारणको व्यक्तित्व पहिचान गरेर त्यही अनुसार अनलाइन ठगी गर्ने भएकाले अनलाइनमा गर्ने हरेक कारोबारमा सजग हुनुपर्छ,” उनले भने, “कसैले मेसेज वा भिडिओ नै पठाएर पनि रकम मागेको छ भने एकपटक फोन गरेर वा अन्य तरिकाले यकिन गरेर मात्रै कारोबार गर्दा उपयुक्त हुन्छ ।” टेकपानाबाट